डोटीको आदर्श गाउँपालिका-१ बाँझककानीमा मध्यराति घर भत्किँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ। घटनामा पाँच जना घाइते भएका छन्।
गएराति एक बजे स्थानीय लोगे लुहार (विक) को घर भत्किँदा उनकी पत्नी ३५ वर्षीया विष्ना विक, ११ वर्षीय छोरा पारस, छोरीहरु सात वर्षीय सिरु र चार वर्षीया जेनिसाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका डिएसपी इन्द्रबहादुर मल्लले जानकारी दिए।
घटनामा घर मालिक लोगे लुहार, निजकी आमा ५२ वर्षीया पाना, सासु ५६ वर्षीया घाङरी विक, सालो १३ वर्षीय इन्द्र विक तथा छोरी दुई वर्षीया अस्मिता लुहार घाइते भएका छन्।
प्रहरीका अनुसार घाइते लोगे, पाना, घाङरी तथा इन्द्रको अवस्था गम्भीर छ। अस्मिताको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। घाइतेलाई उपचारका लागि डोटीको दिपायलमा रहेको शैलेश्वरी अस्पताल लगिएको छ।
‘बाबुबाजेकै पालादेखिको ढुंगामाटोले बनेको पुरानो तीनतले घर रहेछ। राति सुतिरहेको बेला एक्कासी माथिल्लो तला खसेछ,’ डिएसपी मल्लले मंगलबार बिहान नेपालखबरसँग भने, ‘माथिल्लो तला भत्किएको जानकारी पाएपछि भागेकाको ज्यान जोएिको छ। अरुको मृत्यु भयो।’
भत्किएको घरले च्यापिएर एउटा गाई, एक होल गोरु र दुईवटा बाख्रा पनि मरेका छन्।
घटनास्थलमा इलाका प्रहरी कार्यालय मौवानगरदहका प्रमुख तथा प्रहरी निरीक्षक वीरबहादुर बुढाको कमाण्डमा प्रहरी टोली परिचालन गरिएको मल्लले बताए।
घरभित्र च्यापिएका शव प्रहरी टोलीद्वारा निकाल्ने काम भइरहेको छ। घटनास्थल जिल्ला सदरमुकाम सिलगढीबाट दुई÷तीन घण्टाको दूरीमा पर्छ।
Shares

प्रतिक्रिया