विश्वका धेरैजसो देशमा दिनप्रतिदिन कोरोना संक्रमण बढिरहेका बेला न्युजिल्यान्डमा भने एक जनामा पनि कोरोना संक्रमण नदेखिएको आइतबार सय दिन पुगेको छ।
जम्मा ५० लाख जनसंख्या रहेको न्युजिल्यान्डमा धेरै दिनदेखि जनजीवन सामान्य छ । त्यहाँका मानिस रंगशालामा खचाखच भरिएर खेल हेर्छन्। बिनाडरत्रास बार एवं रेस्टुरेन्ट जान्छन्।
जम्मा सय जनामा कोरोना संक्रमण देखिनेबित्तिकै मार्चको अन्तिमतिर न्युजिल्यान्डमा कडा लकडाउन गरिएको थियो। यसरी सुरुमै कडा कदम चालेकै कारण त्यहाँ कोरोना संक्रमण फैलिन नपाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
न्युजिल्यान्डमा जम्मा १ हजार ५ सय जना संक्रमित भएका थिए भने २२ संक्रमितको मृत्यु भयो। त्यसयता कोही संक्रमित भएका छैनन्। कोही पनि कोरोना पोजिटिभ नदेखिएको आइतबार सय दिन पुग्यो।
युनिभर्सिटी अफ ओटागोका महामारी विशेषज्ञ प्राध्यापक डाक्टर माइकल बेकरले यसरी न्युजिल्यान्डमा कोरोना नियन्त्रण हुन सक्नाको कारण विज्ञान र कुशल नेतृत्वको चमत्कार भएको बताएका छन्।

प्रतिक्रिया