समाज


१० वर्षसम्म अलपत्र माडी पुल ११ महिनामै सम्पन्न

१० वर्षसम्म अलपत्र माडी पुल ११ महिनामै सम्पन्न

नेपालखबर
साउन ३, २०७६ शुक्रबार ८:७,

शिलान्यास गरेको १० वर्षपछि रोल्पाको माडी खोला पुलले बल्ल पूर्णता पाएको छ। रोल्पाको पश्चिम भेगलाई जिल्ला सदरमुकामसँग जोड्ने उक्त पुल निर्माणपछि जिल्लाका आधा दर्जनभन्दा बढी गाउँपालिकामा आवतजावत गर्न सहज हुने भएको छ।

पहिलो निर्माण व्यवसायीले काम गर्न नसकेको भन्दै सरकारले दोस्रो पटक बोलपत्र आह्वान गरी अर्को निर्माण व्यवसायीलाई उक्त पुल निर्माणको जिम्मा दिएको थियो। सत्र महिनाभित्र निर्माण कार्य सक्ने गरी जिल्लास्थित एसियाटिक राज जेवी कन्सट्रक्शनले निर्माणको जिम्मा पाएको थियो।

अघिल्लो वर्ष असार ३१ गते सम्झौता गरी सोही वर्षको भदौ १ गतेदेखि निर्माण आरम्भ गरिएकोे उक्त पुल ११ महीनामा सम्पन्न भएको हो। रू तीन करोड ३५ लाखको लागतमा निर्माण गरिएको उक्त पुलको सम्झौता अनुसारको सम्पूर्ण काम सम्पन्न गरिसकेको निर्माण व्यवसायी राजवीर घर्तीले जानकारी दिए।

‘सम्झौता अनुसारको मेरो जिम्मेवारी पूरा गरी सरकारलाई बुझाइसकेको छु’, ‘प्रोपाइटर’ घर्तीले भने। सो पुलबाट केही दिनभित्रै गाडी आवतजावतका लागि छोडिने छ। ०६५ सालमा सडक विभागमार्फत गरिएको बोलपत्रमा काठमाडौँमा रहेको लामा÷एडी÷धर्मेन्द्र जेभी निर्माण कम्पनीले सो पुल निर्माण गर्ने जिम्मा पाएकामा शुरुआती चरणमा निर्माणको केही काम गरे पनि राजनीतिक पहुँचका आधारमा निर्माण व्यवसायी वसन्त दशौदीले निर्माण कार्य आलटाल गरेसँगै पुल निर्माण कार्य अनिश्चित बनेको स्थानीयवासीले आरोप लगाएका थिए।

निर्माण कार्यलाई तीव्रता दिने उद्देश्यले रोल्पाका स्थानीय राजनैतिक दल र सामाजिक सङ्घसंस्थाको टोली सङ्घर्ष समिति बनाएर प्यूठानस्थित सडक डिभिजन कार्यालयमा पुगेर पक्की पुल निर्माण कार्यलाई यथाशीघ्र सञ्चालन गर्न जोड दिएका थिए। दुई वटा पिलर ठड्याएर रू एक करोडभन्दा बढी रकम भुक्तानी पनि निर्माण व्यवसायी दशौदीले निर्माणका क्रममा आफ्नो निर्माण सामग्री हराएको भन्दै क्षतिपूर्तीको माग गर्दै आलटाल गरेकाले पुल अलपत्र भएको थियो। स्थानीय राजनैतिक दल र नागरिक समाजको दबाबका कारण दोस्रो गरिएको बोलपत्र पछि उक्त पुल निर्माण भएको हो।

वैकल्पिक व्यवस्थाका लागि भन्दै सो नदीमा बेलीब्रिज राखिए पनि आवतजावतमा निकै समस्या हुँदै आएकामा पुल निर्माणसँगै सो समस्या समाधान हुने यातायात व्यवसायी रामचन्द्र थापाले बताए। ‘पुल निर्माण स्थलमा रहेको कडा चट्टानका कारण यातायातका साधन सञ्चालनमासमेत निकै चुनौती व्यहोर्दै आएका थियौँ अब सो समस्या समाधान हुने भयो’, व्यवसायी थापाले भने। अप्ठेरो भौगोलिक अवस्थितिका कारण सम्भावित दुर्घटनाको त्रासमा गाडी चलाउन परेको उनको भनाइ थियो।रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad