समाज


धनी मुलुकलाई पुगेपछि मात्रै गरिबले पाउनेछन् कोरोनाको खोप

धनी मुलुकलाई पुगेपछि मात्रै गरिबले पाउनेछन् कोरोनाको खोप

नेपालखबर
साउन १८, २०७७ आइतबार १२:४२,

संसारभरका १ सय ४२ वटा अनुसन्धान टोली कोरोना भाइरसविरुद्धको खोप पत्ता लगाउन प्रयत्नरत छन्।

खोप तयार गर्न सामान्यतयाः वर्षौँ लाग्छ। तर, यसपटक अभूतपूर्व रुपमा छिटो खोप तयार गर्न अनुसन्धाताहरु लागिपरेका छन्। सकभर १२ महिनाभित्रै खोप तयार गर्ने उनीहरुको योजना छ।
शरीरमा पुगेपछि खोपले भाइरस अथवा त्यसको केही हिस्साको नक्कल गर्छ। जसका कारण शरीरको प्रतिरक्षा प्रणालीले एन्टिबडी उत्पादन गर्छ।

हाल ५ वटा खोप परीक्षणको तेस्रो अर्थात् अन्तिम चरणमा पुगिसकेका छन्, जसमध्ये तीन चीनमा उत्पादित खोप हुन्। दोस्रो चरणमा १३ र पहिलो चरणमा १७ खोप छन्। त्यसैले यो वर्षको अन्त्यसम्ममा खोप उपलब्ध हुने आशा धेरैमा देखिन्छ। तर, खोप निर्माताहरुले अझै थुप्रै बाधा पार गर्न बाँकी छ। तिनको खोप प्रभावकारी छ भन्ने प्रमाणित गर्नुपर्छ, अनुमति लिनुपर्छ र उत्पादन बढाउनुपर्छ। त्यसमाथि सबै खोप सफल हुने छैनन्।

यतिबेला सारा संसार कोरोनाविरुद्धको खोप पर्खिरहेको छ। कतिपय मुलुक त खोप बनेपछि मात्रै स्कुल, सिनेमा हल खोल्ने पर्खाइमा छन्। तर, खोप सफल ठहरिएर उत्पादन सुरु हुन थालिसकेपछि पनि गरिब मुलुकहरुले पाउने सम्भावना निकै कम छ। किनभने धनी र बलिया मुलुकले खोप निर्माता कम्पनीहरुसँग एक अर्बभन्दा बढी डोज पहिले आफूले किन्ने सम्झौता गरिसकेका छन्। साना र गरिब मुलुकको पालो अन्तिममा मात्रै आउन सक्छ।

त्यसैले कोरोनाविरुद्धको खोपको आपूर्तिमा धनी मुलुकले एकाधिकार कायम गर्ने चिन्ता गरिब मुलुकहरुलाई पर्न थालेको छ। यो चिन्ता आधारहीन होइन। यसअघि सन् २००९ मा पनि स्वाइन फ्लुको खोप बनेपछि सबैजसो डोज ठूला र सम्पन्न राष्ट्रले हडपेका थिए।

अहिले पनि अमेरिका, बेलायत, युरोपेली संघ र जापानले मात्रै हालसम्म विकास भइरहेका खोपमध्ये सवा अर्ब डोज सुरक्षित गरिसकेको लन्डनस्थित एयरफिनिटी नामक तथ्यांक कम्पनीले जनाएको छ। त्यस्तै थप डेढ अर्ब डोजका लागि सम्झौताको तयारी भइरहेको छ।

अन्तर्राष्ट्रिय संघसंस्था र कयौँ मुलुकहरुले कोरोनाविरुद्धको खोपलाई सबैको पहुँचमा पुर्‍याउनुपर्नेमा जोड दिइरहेका छन्। कतिपय मुलुकले त्यससम्बन्धी प्रतिबद्धता पनि गरिरहेका छन्। तर, ७.८ अर्ब मानिसका लागि समान रुपमा खोप उपलब्ध गराउने काम पक्कै सजिलो छैन।

त्यसमाथि २०२२ को पहिलो तीन महिनाभित्र मात्रै विश्वभर १ अर्ब डोज खोपको आपूर्ति हुनसक्ने एयरफिनिटीको अनुमान छ।

‘एकदम आशावादी भएर वैज्ञानिक प्रगतिको मूल्यांकन गर्ने हो भने पनि संसारलाई पुग्ने खोप छैन,’ एयरफिनिटीका रास्मस बेक हानसेन भन्छन्। त्यसमाथि कतिपय खोप त दुई पटक लगाउनुपर्ने हुन्छ।

अमेरिकाले भर्खरै सनोफी ग्लाक्सोस्मिथक्लाइन नामक कम्पनीसँग खोपका लागि सम्झौता गरिसकेको छ। त्यस्तै जापानले फाइजर नामक कम्पनीसँग पनि त्यस्तो सम्झौता गरिसकेको छ।

खोपको पेटेन्ट राइट नरम बनाउनुपर्छ भन्ने वकालत गर्दै आएको युरोपेली संघले समेत आक्रामक रुपमा खोप किन्ने सम्झौता गरिरहेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले सनोफी र ग्लाक्सोको खोपका लागि हालसम्मकै ठूलो रकम लगानी गर्ने प्रतिबद्धता गरेको छ। अमेरिकी सरकारले ती कम्पनीलाई २.१ अर्ब डलर उपलब्ध गराउने छ। यदि खोप सफल भए अमेरिकाले सो कम्पनीबाट १० करोड खोप पाउनेछ।

सनोफी र ग्लाक्सोकै ३० करोड खोप किन्न युरोपेली संघले सम्झौता गर्दैछ। अमेरिकाले अन्य कम्पनीको खोपमा पनि लगानी गरिसकेको छ। फाइजर र बायोएनटेकको खोपका लागि उसले गत साता मात्र १.९५ अर्ब डलर तिरिसकेको छ। त्यस्तै नोभाभ्याक्सका लागि १.६ अर्ब डलर र अस्ट्राजेनेकाका लागि १.२ अर्ब डलरको सम्झौता भइसकेको छ।

उता बेलायत सरकारले अस्ट्राजेनेकाको १० करोड डोज खोपका लागि सम्झौता गरिसकेको छ। त्यस्तै, फाइजरको ३ करोड र भाल्नेभाको ६ करोड खोपका लागि पनि बेलायतले सम्झौता गरिसकेको छ।

अहिले प्ररीक्षणमा रहेका थुप्रै खोप असफल साबित हुनेछन्। त्यसैले मुलुकहरुले एउटा कम्पनीसँग मात्र सम्झौता गरेर ढुक्क हुने स्थिति छैन। खोप पाउने ग्यारेन्टी गर्न उनीहरुले अनेकौँ कम्पनीसँग सम्झौता गरिरहेका छन्।

गरिब मुलुकले खोप नपाउने समस्या समाधानको एउटै उपाय हो– खोप उत्पादनको पूर्वाधारमा लगानी। खोपलाई विश्वभर पुर्‍याउन औषधि कम्पनीहरु योजना बनाइरहेका छन्। विश्व स्वास्थ्य संगठन, कोलिसन फर एपिडेमिक प्रिपेयर्डनेस इनोभेसन्स र भ्याक्सिन अलायन्सले खोपको समतामूलक वितरणका लागि काम गरिरहेका छन्।

यी संस्थाहरुले १८ अर्ब डलर खर्च गरेर सन् २०२१ को अन्त्यसम्ममा २ अर्ब खोप सुरक्षित गर्ने योजना सार्वजनिक गरेका छन्। यो पहललाई कोभ्याक्स नाम दिइएको छ, जसमा ७८ मुलुकले सहभागिता जनाउने इच्छा व्यक्त गरेका छन्। यो कार्यक्रमबाट ९० वटाभन्दा बढी गरिब तथा मध्यम आय भएका मुलुकले खोप प्राप्त गर्नेछन्।

तर, त्यसबाहेक पनि थुप्रै मुलुकले खोप नपाउने जोखिम भने रहनेछ। 

(एजेन्सीहरुको सहयोगमा)

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad