नेपाल रेडक्रस सोसाइटीको नवगठित तदर्थ समितिले एक हप्ताभित्र स्वेतपत्र जारी गर्ने भएको छ।
आइतबार पदभार ग्रहण गर्दै अध्यक्ष डा. नेत्र तिम्सिनाले जनता, सरकार र साझेदारहरूलाई रेडक्रसको अहिलेको स्थितिको बारेमा स्पष्ट जानकारी गराउन आगामी हप्ता श्वेतपत्र जारी गर्ने बताए।
साउन १२ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपाल रेडक्रस सोसाइटीको तत्कालीन कार्यसमिति विघटन गरी संस्थाको साधारण सदस्य मध्येबाट डा. नेत्र तिम्सिनाको अध्यक्षतामा ३३ सदस्यीय तदर्थ समिति गठन गर्ने निर्णय गरेको थियो।
आगामी सातासम्ममा नयाँ समितिले आफ्नो विस्तृत कार्ययोजना बनाउने बताउँदै अध्यक्ष डा. तिम्सिनाले भने, ‘नेपाल रेडक्रसको लागि नयाँ ऐन ल्याउन हाम्रो प्रयास हुनेछ र देशको संरचनाअनुसार रेडक्रसको संरचना मिलाउनेतर्फ पनि क्रियाशिल हुनेछौं। आचारसंहिता उल्लंघनमा सुन्य शहनशीलता हुनेछ र संस्थालाई सुद्धिकरण गरिने छ।’
तदर्थ समितिका महामन्त्री पिताम्बर अर्यालले नेपाल रेडक्रसलाई थप उचाईमा लैजाने, निर्वाचन जतिसक्दो छिटो गर्ने र कानुनी अवस्था सुधार गर्ने नै समितिको प्राथमिकता रहेको बताए। पदभार ग्रहण कार्यक्रममा उपाध्यक्षद्धय डा. विश्वकेशर मास्के, शर्मिला कार्की र उपकोषाध्यक्ष होमप्रसाद पाठकको पनि उपस्थिति रहेको थियो।

प्रतिक्रिया