समाज


हेमकार परिवार हत्याकाण्ड : अभियुक्तलाई साधारण तारेखमा रिहा गर्न सर्वाेच्चको आदेश

हेमकार परिवार हत्याकाण्ड : अभियुक्तलाई साधारण तारेखमा रिहा गर्न सर्वाेच्चको आदेश

नेपालखबर
साउन ३, २०७६ शुक्रबार २:२३,

नेपालगन्जका सुन व्यापारी दीपक हेमकार परिवारका पाँच जनाको हत्या आरोप लागेका भारतीय नागरिक किशोरीलाल सोनीलाई सर्वोच्च अदालतले साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ।

न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा र पुरुषोत्तम भण्डारीको इजलासले १४ वर्ष पुरानो हत्याकाण्डका आरोपित सोनीलाई रिहा गर्न आदेश दिएको हो।

नेपालगन्ज-१५, सदरलाइनस्थित न्यु दीप ज्वेलर्सका सञ्चालक दीपक हेमकर परिवारको ०६२ फागुन २३ मा सामूहिक हत्या भएको थियो।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र बाँके प्रहरीको विशेष टोलीले आरोपित सोनीलाई ०७५ असोज १३ मा भारतको लखनउबाट पक्राउ गरी नेपाल ल्याएको थियो।

त्यसलगत्तै केही समय अनुसन्धान गरी बाँके प्रहरीले जिल्ला अदालतमा हत्या तथा डकैती मुद्दा दायर गरेको थियो। उक्त मुद्दामा जिल्ला अदालत बाँकेले ०७५ कात्तिक १४ मा पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो।

आरोप अस्वीकार गर्दै आएका सोनीले उच्च अदालत दाङमा निवेदन दिँदै साधारण तारेखमा रही मुद्दा पुर्पक्ष गर्न दिन माग गरेका थिए। उच्च अदालत दाङको नेपालगन्ज इजलासले ०७५ पुस २६ मा जिल्लाकै आदेश सदर गर्दै पुर्पक्षका लागि थुनामै राख्न आदेश दियो। उक्त आदेशविरुद्ध सोनीले ०७५ चैत ५ मा सर्वोच्च अदालतमा कारागार बाहिरैबाट मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने माग गर्दै निवेदन दिए।

प्रहरी अनुसन्धानकै क्रममा दीपककै श्रीमती दीपा सोनी र ससुरा किशोरीलाल सोनीको संलग्नता रहेको तथ्य फेला परेको थियो । यसबीच आरोपी दीपाले दीपकको नाममा रहेको घरसमेत बेचबिखन गरी भारतको लखनउ पुगिसकेकी थिइन्। दीपकसहित उनका बुबा जगदेव, आमा सीतादेवी, हजुरआमा गुलाबदेवी र कामदार खासकुश्मा-१, कुसुमका रामशनीश्चर चौधरीको राति सुतेकै ठाउँमा घाँटी रेटेर हत्या गरिएको थियो।

हत्या आरोपी किशोरीलाल दीपकका ससुरा हुन् । कफर्यू लागेका बेला भएको उक्त हत्यामा संलग्न अपराधी लामो समयसम्मपक्राउ नपर्दा नेपालगन्जमा त्रासको अवस्था थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad