ad ad

समाज


सातै प्रदेशमा भारी वर्षाकाे सम्भावना

 सातै प्रदेशमा भारी वर्षाकाे सम्भावना

नेपालखबर
साउन १४, २०७७ बुधबार ०:५३,

आज (बुधबार) देशका सातै प्रदेशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

तर ‘धेरै भारी’ वर्षा नहुने अनुमान गरिएकाे छ। मंगलबार बिहान गरिएको अनुमानभन्दा आज (बुधबार) मौसमको अवस्थामा परिवर्तन भएको मौसमविद्ले बताएका छन्।

मंगलबार बिहान ६ बजे मौसम महाशाखाले जारी गरेको तीन दिन (बिहीबारसम्म) को ‘मौसम पूर्वानुमान बुलेटिन’ मा बुधबार र बिहीबार देशका विभिन्न स्थानमा ‘धेरै भारी’ वर्षासमेत हुने सम्भावना उल्लेख गरिएको थियो।

याे पनिआज ‘भारी’, भोलि र पर्सि ‘धेरै भारी’ वर्षाको सम्भावना

तर मंगलबार बेलुका ६ बजेदेखि यो अनुमान परिवर्तन भएको पाइएको छ। अहिले (बुधबार) बिहान ६ बजेको बुलेटिनमा पनि धेरै भारी वर्षाको सम्भावना उल्लेख छैन।

बुधबार बिहान नेपालखबरले राखेको जिज्ञासामा मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु बासीले भनिन्, ‘मौसम भनेकै परिवर्तन भइरहने कुरा हो, हिजो (मंगलबार बिहान) को अुनमानभन्दा मौसममा फरक परिस्थिति देखापरेको हो।’

उनका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालभन्दा केही तल (दक्षिण) सरेपछि मनसुन केही निष्क्रिय भएको र ‘धेरै भारी’ वर्षा हुने सम्भावना टरेको हो।

कतिको मिल्छ अनुमान?
उसो त मौसमविद्ले ठोकुवा गर्ने होइनन्, अनुमान नै गर्ने हुन्। यसैकारण कहिले पनि ‘वर्षा हुन्छ’ भनिँदैन, ‘वर्षाको सम्भावना’ भन्ने गरिन्छ।

केही दिनअघि नेपालखबरसँगको कुराकानीमा महाशाखाकै वरिष्ठ मौसमविद् वरुण पौडेलले भनेका थिए, ‘हाम्रो अनुमान ८० देखि ९० प्रतिशतसम्म मेल खान्छ।’

मनसुन र जाडोका बेला अनुमान धेरै मेल खाने तर प्रिमनसुन (मनसुनअघिको अवधि) को समयमा भने अनुमान मिल्न गाह्रो हुने उनको भनाइ छ।

उनका अनुसार प्रिमनसुनका बेला क्षणमै बादल बन्ने, क्षणिक वर्षा भइहाल्ने र रोकिइहाल्ने भएकाले अनुमान अलि कम मिल्ने भएको हो। मनसुनका बेलाचाहिँ त्यस्तो नहुने भएकाले अनुमान अलि धेरै मिल्ने मौसमविद् पौडेलको भनाइ छ।

यस्तो छ आजको अनुमान
भारी वर्षा भने सातै प्रदेशका विभिन्न स्थानमा हुने अनुमान आजको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ।

त्यसो त सुदूरपश्चिम प्रदेशका कञ्चनपुर, कैलाली, डडेल्धुरा, अछामलगायत आसपासका स्थानमा हिजै (मंगलबार) रातिदेखि भारी वर्षा भइरहेको छ।

यसैगरी अहिले बिहान प्रदेश २ का महोत्तरी, धनुषा र सिरहामा पनि मध्यमदेखि भारीसम्म वर्षा भइरहेको मौसमविद् बासीले जानकारी दिइन्।

‘काठमाडौं उपत्यकामा पनि बिहान ३-४ बजेदेखि वर्षा भइरहेको देखियो, अहिले भने थामिँदै गएको छ, अब १–२ घण्टा वर्षा रोकिने अनुमान छ,’ मौसमविद् बासीले भनिन्, ‘तर दिउँसो पुनः बदली भई वर्षा हुने सम्भावना छ।’

महाशाखाका अनुसार दिउँसो देशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। गण्डकी, प्रदेश ५ र सुदूरपश्चिमका थोरै स्थानमा र प्रदेश १,२, बागमती र कर्णालीका प्रदेश १–२ स्थानमा भने भारी वर्षाको सम्भावना छ।

राति पनि देशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा जारी रहने अनुमान छ।

महाशाखाले बुधबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा भनिएको छ, ‘प्रदेश १, गण्डकी, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा र प्रदेश २, बाग्मती, कर्णाली प्रदेशका एकर दुई स्थानमा भारी वर्षाको सम्भावना छ।’

यस हिसाबले आज सातै प्रदेशका विभिन्न स्थानमा भारी (ठूलो) वर्षाको सम्भावना देखिएको छ।

हेर्नुहोस्, महाशाखाले बुधबार बिहान ६ बजे जारी गरेको तीन दिनको मौसम अनुमान : 

Screenshot 122 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .