आमाबुबाको हत्या गर्ने दुई तालिबान लडाकु मारेपछि हाल यतिबेला उनी विश्वभर चर्चित बनेकी छन्।
अफगानिस्तानको घोर प्रान्तका अधिकारीहरूका अनुसार तालिबानले उनका आमाबुबाको हत्या गरेपछि ती किशोरीले परिवारको एके–४७ राइफले लिएर ती दुई लडाकुलाई मारिदिएकी थिइन्।
उनको नाम क्यमर गुल भएको टाइम्स अफ इन्डियाले जनाएको छ। एके–४७ को आक्रमणबाट उनले अन्य केही लडाकुलाई घाइते समेत बनाएकी थिइन्।
उक्त घटनापछि ग्रिवा गाउँमा रहेको उनको घरमा आक्रमण गर्न थप लडाकु पुगेका थिए। तर उनीहरू स्थानीय बासिन्दा र सरकार पक्षीय लडाकुहरूको आक्रमणमा परेका थिए।
किशोरीका बुबा सरकार समर्थक रहेकाले तालिबानहरू उनको घरमा गएको बीबीसीले जनाएको छ।
हाल किशोरीले राइफल समातेको फोटो भाइरल बनेको छ। अधिकारीहरूले किशोरी १४ देखि १६ वर्ष उमेरको हुनसक्ने ठानिएको र उनका भाइलाई सुरक्षित स्थानमा राखिएको बताएका छन्।
विश्वभर उनको बहादुरीको चर्चा भएको छ। तालिबानले गत फेब्रुअरी महिनामा अमेरिकासँग शान्ति सम्झौतामा हस्ताक्षर गरेको थियो। उक्त सम्झौतामा तालिबान हिंसा त्याग्न सहमत भएको थियो।
हाल तालिबान लडाकुले सरकारी सेनालाई थुना मुक्त गरिरहेका छन्भने अफगान सरकारले तालिबान लडाकु छाडिरहेको छ।
तर तालिबानका कयौं सदस्यहरूले अझै हिंसा भड्काउने कार्य गरिरहेका छन्। बीबीसी

प्रतिक्रिया