वैदेशिक रोजगार बोर्डको विशेषज्ञ सदस्यबाट कैलाश खड्काले राजीनामा दिएका छन्। व्यक्तिगत कारण देखाउँदै समय दिन असमर्थ रहेको भनी उनले बोर्डका अध्यक्ष समेत रहेका श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादव समक्ष बिहीबार राजीनामा दिएका हुन्।
असार १९ गते बसेको बोर्डको बैठकले खड्कालाई बोर्डको विशेषज्ञ सदस्यमा नियुक्त गर्ने निर्णय गरेको थियो।
तर खड्कालाई नियुक्त गरिएपछि चौतर्फी विरोध भएको थियो। विरोधकै कारण श्रम मन्त्री यादवकै सल्लाहमा खड्काले राजीनामा दिएका हुन्।
खड्काले आफूलाई बोर्डको सदस्यमा नियुक्त गरिएकोमा मन्त्री यादवलाई धन्यवाद दिँदै, आफ्नै कारणले बोर्डको सदस्य भएर काम गर्न नसक्ने जनाएको श्रम मन्त्रालय स्रोतले जनाएको छ।
श्रममन्त्री यादवले समेत खड्काले राजीनामा दिएका पुष्टि गरेका छन्।
मन्त्रीका अनुसार खड्काले आफ्नै कारण राजीनामा दिएको बताएका छन्।
खड्कालाई बोर्ड सदस्यमा नियुक्त गरेलगत्तै पार्टीभित्र र बाहिरबाट चर्को आलोचना भएपछि श्रममन्त्री यादव अप्ठेरोमा परेका थिए।
यसअघिका श्रममन्त्री गोकर्ण बिष्टले बायोमेट्रिक मार्फत खड्काले श्रमिकमाथी ठगी गरेको भन्दै मुद्दा चलाएका थिए। तर अदालतले सरकारको दाबीअनुसार ठगी ठहर नभएको भन्दै सफाइ दिएको थियो।
वैदेशिक रोजगार ऐन २०६४ को दफा ३८ को (ठ)अनुसार वैदेशिक रोजगार विशेषज्ञहरुमध्ये नेपाल सरकारद्वारा मनोनित एक जना महिला समेत दुई जना सदस्य रहने व्यवस्था छ।
सोही व्यवस्थालाई टेक्दै मन्त्री यादवले खड्कालाई बोर्ड सदस्यमा नियुक्त गरेका थिए।
ऐनअनुसार श्रममन्त्रीको अध्यक्षतामा हुने बोर्डको सदस्यमा परराष्ट्र, अर्थ, कानुन, महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयका सचिव वा नीजले तोकेका राजप्रत्रांकित प्रथम श्रेणीका व्यक्ति रहने व्यवस्था छ।
यस्तै वैदेशिक रोजगार विभाग, राष्ट्र बैंक, विशेषज्ञ, वैदेशिक रोजगार व्यवसायी, अभिमुखी तालिम, स्वास्थ्य संस्था, ट्रेड युनियन र उद्योग वाणिज्य महासंघका प्रतिनिधि सदस्य रहने व्यवस्था छ।
दुई वर्षका लागि नियुक्त भएका खड्काले १० दिनमै राजीनामा दिएका हुन्। अर्का सदस्य म्यानपावर व्यवसायी हेम गुरुङले पनि बोर्डको सदस्य बस्न असमर्थता जनाएका थिए।
याे पनि: चौतर्फी आलोचनापछि बोर्ड सदस्यमा खड्कालाई नियुक्त गर्ने निर्णय फिर्ता हुँदै
Shares
प्रतिक्रिया