समाज


नारायणीको कटानले एक दर्जन गाउँ जोखिममा

नारायणीको कटानले एक दर्जन गाउँ जोखिममा

नेपालखबर
साउन १, २०७७ बिहिबार १०:१२,

 मध्यविन्दु नगरपालिका –३, रतपुरमा नारायणी नदीको कटान तीव्र बनेसँगै यस क्षेत्रका करिब एक दर्जन गाउँ डुबानको जोखिममा परेका छन्।

केही दिनयता रतपुरमा निर्माण गरिएका नदी किनारका ठोकर भत्काउने र जमिन कटानका कारण जोखिम बढेको स्थानीय योगमान चौधरीले बताए। ‘एघार कट्ठा जमिन थियो, आधा नारायणीले बगायो’, चौधरीले भने, ‘बाँकी पनि क्रमशः काटिरहेको छ।’

यस क्षेत्रमा मात्रै नारायणी नदीका कारण करिब १०० बिघा जग्गा बगरमा परिणत भएको वडा नम्बर ३, का वडाध्यक्ष अमरबहादुर महतोले बताए। पछिल्लोपटक रतनपुरमा भएको कटानले रतपुरसँगै, नन्दपुर, सेहरी, सीतापुर, भिउरान, तमासपुर, बरुवा, भडारालगायतका गाउँसमेत जोखिममा परेको छ। ‘रतनपुरमा कटान तीव्र रहेको छ, यहाँबाट नदीले धार परिवर्तन गरे करिब एक दर्जन बस्ती र सयौँ बिघा खेतीयोग्य जमिन बगर बन्नेछ’, महतोले भने।

चितवनतर्फको धार परिवर्तन हुँदै नदी नवलपुरको भागमा आउँदा कटान बढेको स्थानीय तोयनारायण महतोले बताए। रतनपुरमा नारायणी नदी साविकको बहाव क्षेत्रदेखि करिब तीन किलोमिटर नवलपुरतर्फ सरेको उनले बताए। यस क्षेत्रका सयौँ घरपरिवार नदीका कारण विस्तापित बनेका छन्।

नदीको कटान बढेपछि गण्डकी प्रदेशसभा सदस्य रोशनबहादुर गाहा, जनकलाल श्रेष्ठ, संविधानसभा सदस्य जीवन श्रेष्ठसहित भीमलाल अधिकारीको टालीले कटान क्षेत्रको निरीक्षण गरेको छ।

प्रदेशसभा सदस्य रोशनबहादुर गाहाले स्थानीय बजेटबाट मात्रै नदी नियन्त्रणको कार्य असम्भव भएकाले प्रदेश र सङ्घीय सरकारले यसको व्यवस्थापनमा लाग्नुपर्ने बताए। ‘कटान तीव्र छ, जोखिम बढ्दो छ, तत्काल नियन्त्रणको पहल आवश्यक छ, मैले गण्डकी प्रदेशका मुख्यमन्त्रीसमक्ष कुरा गरिसकेको छु”, प्रदेशसभा सदस्य गाहाले भने।

प्रदेशसभा सदस्य जनकलाल श्रेष्ठले गैँडाकोटदेखि त्रिवेणीसम्म नै बाँध निर्माण गर्न आवश्यक रहेको र यसका लागि प्रदेशसँगै संघीय सरकारले कदम चाल्नुपर्ने बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad