जलस्रोतको विषयलाई लिएर नेपाल र भारतको सम्बन्ध तनावपूर्ण छ। जब नेपालमा वर्षायाम सुरु हुन्छ तब नेपाल–भारत सम्बन्धमा उतार चढाव सुरु हुन्छ।
बाढी दुवै छिमेकी देशको तनाबको कारण बनेको छ। दुवै देशका नागरिक निराश छन्, आफ्ना बस्ती डुबानमा परेकोमा उनीहरु एकअर्कालाई जिम्मेवार ठान्छन्।
यसवर्ष पनि बाढीले दुवै देशका क्षेत्रहरु डुबानमा परेका छन्। नेपाल र बंगलादेशमा दर्जनौं मानिसको मृत्यु भइसकेको छ। भारतका पूर्वी क्षेत्रमा ३० लाखभन्दा बढी मानिस बाढीका कारण विस्थापित भएका छन्।
भारत र नेपालबीच करिब १८ सय किलोमिटर लामो सीमा छ। लगभग ६ सय नदी र साना खोलाहरु नेपालबाट भारत प्रवेश गर्दछन्। सुख्खा याममा नेपालका नदीनालाले भारतको गंगा नदीमा ७० प्रतिशत योगदान दिन्छन्। जब नेपालमा वर्षायाम सुरु हुन्छ नेपालका नदी नालामा बाढी आउँछ। त्यसले नेपाल र भारतका विभिन्न क्षेत्र डुबानमा पर्छन्। डुबानबाट यो पटक नेपाली बढी पीडित बनेका छन्।
नेपाल सीमानामा भारतले लगाएको बाँध र त्यहाँका संरचनाका कारण नेपाली भूभाग डुबानमा परेको छ। दुई वर्ष अगाडि बीबीसीले गरेको एक खोजका आधारमा पनि सीमानामा लगाइएको बाँध र त्यहाँका संरचना हेर्दा त्यसले नेपालबाट भारत पुग्ने नदी रोकेको देखिएको थियो।
ती संरचनाहरु सीमावर्ती त्यही ठाउँमा बनाएका छन् जहाँ सन् २०१६ मा नेपाली र भारतीय नागरिकबीच एकआपसमा झडप भएको थियो। त्यो घटना भारतले तटबन्ध बनाउन थालेपछि नेपाली पक्षले प्रतिक्रिया जनाउँदा भएको थियो। नेपाली अधिकारीहरुका अनुसार सीमानामा लगभग १० वटा भारतीय संरचना छन् जसका कारण नेपालको हजारौं हेक्टर जमिन डुबान हुन्छ।
भारतीय संरचनाका कारण डुबानमा परेकाे राैतहटकाे दशगजा क्षेत्र। तस्विर: मदन ठाकुर
भारतीय अधिकारीको दाबी छ, ‘त्यो सडक हो।’ तर नेपालका विशेषज्ञ भन्छन् यी तटबन्ध भारतको सीमावर्ती गाउँलाई डुबानबाट बचाउन बनाइएका हुन्। दक्षिण नेपालको रौतहट जिल्लाको मुख्यालय गौर गत हप्ता तीन दिन डुबानमा पर्यो। त्यतिबेला बाढीको त्रास छँदै थियो स्थानीय अधिकारीलाई अर्को डर पनि थियोः नेपाल र भारतका नागरिकबीच मुठभेड होला कि भन्ने।
नेपलका सशस्त्र प्रहरी बलका एसपी कृष्ण ढकाल बीबीसीसँग भन्छन्,‘विवाद मच्चिएपछि भारतीय पक्षले भारतीय तटबन्धको तलका दुईवटा गेट खोलेदिए जसले अवस्था सुधारको लागि हामीलाई मद्दत मिल्यो।’
भारतीय अधिकारीहरुले यस विषयमा कुनै टिप्पणी गर्न चाहँदैनन्। दुवै देश यस विषयलाई लिएर कैयौं वर्षदेखि छलफल गरिरहेका छन्। अवस्थामा भने सुधार आएको छैन।
गत मे महिनामा नेपाल र भारतीय जलस्रोत व्यवस्थापन अधिकारीबीच बैठक भएको थियो। त्यो बैठकमा नेपाली अधिकारीहरुले सीमानामा सडक र अन्य ढाँचाहरु निर्माण गरिएको जानकारी गराएका थिए। त्यहाँ यो विषय कुटनीतिक स्तरबाटै हुनुपर्ने आवाज उठेको थियो।
नेपालका वार्ताकार तथा कुटनीतिज्ञले यतिबेला नेपाली नागरिकको आलोचना खेपिरहेका छन्। भारतीय पक्षसँग यस विषयमा राम्रोसँग प्रश्न गर्न नसकेको भनेर उनीहरुको आलोचना भइरहेको छ। तर नेपाल मात्र बाढीबाट प्रभावित छैन। भारतीय क्षेत्र पनि बाढीबाट प्रभावित छ। यसपटक बिहार राज्यमा मात्र १९ लाख मानिस विस्थापित भइसकेका छन्। बिहार राज्यले यसबारे जानकारी दिएको छ।
जब गंगा नदीका सहायक नदी कोसी र गन्डक नदी बाढीले उर्लिन्छन् तब बिहारले ठूलो नोक्सानी व्यहोर्नु पर्दछ। हरेक पटक जब बिहार डुबानमा पर्छ तब नेपाललाई दोष लगाइन्छ।
बिहारका नागरिकाअनुसार नेपाली पक्षले बाँध खोलेका कारण बिहार डुबानमा परेको हो।
दुवै देशबीच सन् १९५४ मा कोसी सन्धि र १९५९ मा गण्डक सन्धि भएको थियो। त्यसबेलादेखि बाँध लगाइएको हो। भारतले कोसी र गण्डकको बाँध बाढी रोक्न, सिँचाइ र बिजुली उत्पादन गर्न बनाएको थियो। तर यो नेपालमा धेरै विवादित विषय रहिआएको छ। किनभने स्थानीय नेपालीलाई यसबाट कुनै लाभ मिलेको छैन। यद्यपि भारत सरकार यही बाँधलाई नेपाल र भारतबीच पारस्परिक पानी सहयोग र व्यवस्थापनको गतिलो उदाहरणको रुपमा प्रस्तुन गर्ने गर्दछ।
कोशी अर्थात् बिहारको दुःख
कोसी ब्यारेजमा ५६ वटा ढोका छन्। जब बर्खायामले बाढी निम्त्याउँछ जलस्तर खतराको निशानामा पुग्छ। यस्तोमा सबै ढोका नखोलेका कारण नेपाली प्रशासन भारतको आलोचना गर्ने गर्दछ। ढोका बन्द हुँदा नेपाली बस्ती डुबानमा पर्छ। ढोका खोल्दा बिहार प्रभावित हुन्छ।
कोसी नदीलाई बिहारको दुःख पनि भन्ने गरिन्छ। बिहार कोशीका कारण अनगिन्ती रुपमा प्रभावित भइसकेको छ। सन् २००८ कोसीको पानी ढोकाभन्दा माथि उठेर भारत प्रवेश गरेका थियो। त्यसबेला बिहारमा हजारभन्दा बढीले ज्यान गुमाएका थिए। नेपालमा त्यसबेला ३० लाख मानिस प्रभावित भएका थिए।
अहिले भएको कोसी ब्यारेज ७० वर्ष पुरानो हो। यसको प्राविधिक आयु सकिइसकेको छ। अब शंका गरिँदैछ कि ठूलो बाढी आए ब्यारेज नै भत्किन सक्छ। भारत यसै ब्यारेजको उत्तरतर्फ एउटा बाँध बनाउने योजना तयार गरिरहेको छ। यो पनि नेपालमै बनाउने उसको योजना छ।
उत्खननले पहाड कमजोर
नेपालका प्रायः सबै नदी चुरे पर्वतबाट बग्छन्। यस स्थानको परिस्थिति यतिबेला सम्वेदनशील र खतरामा परेको छ। कुनै समय पहाडले नदीको प्रवाह नियन्त्रण गर्ने गर्दथ्यो। यसले नेपाल र भारतमा हुने नोक्सानी कम हुन्थ्यो। चुरे पर्वतमा हुने उत्खनन र तस्करीले यो पहाड कमजोर बन्दै गएको छ। विकास निर्माणको रफ्तारमा अचानक भएको बढोत्तरीका कारण यहाँका नदीको तटबाट पत्थर, बालुवा र अन्य सामाग्री ओसार्न थालिएको छ। भारतको उत्तर प्रवेश र बिहारका निर्माण उद्योग पनि यो क्षेत्रको ढुंगा, रोडामा निर्भर छन्।
अधिकारीहरुका अनुसार प्रकृति दोहनका कारण पनि वर्षायामको पानीले निम्त्याउने बाढी अनियन्त्रित भएको छ। केही वर्ष अगाडि ठूलो स्तरमा एक संरक्षण अभियान सञ्चालन गरिएको थियो। त्यो अर्थपूर्ण भएन। अब प्राकृतिक स्रोतको दोहन खतरनाक स्थितिमा पुगेको छ।
यस क्षेत्रको पर्यावरण नेपालको मैदानी इलाकाका लागि मात्र नभएर उत्तर प्रदेश र बिहारको लागि पनि महत्वपूर्ण मानिन्छ। भारत नेपालले चुरे संरक्षण गर्न नसकेको भनेर सधैँ आलोचना गर्दछ। जलवायु परिवर्तनका कारण बर्षायामको प्रकोप उत्कर्षमा पुग्दै गएको छ। यस्तोमा विशेषज्ञहरुलाई डर छ कि दुवै देशको झगडा झन् पेचिलो बन्नसक्छ। (बीबीसी विश्व सेवाबाट अनुवाद)

प्रतिक्रिया