सशस्त्र प्रहरीका एक एसएसपी बलात्कारको आरोपमा पक्राउ परेका छन्।
सशस्त्र प्रहरी बल हुल तथा दंगा व्यवस्थापन शिक्षालय लामापाटन पोखराका प्रमुख एवं एसएसपी राजेन्द्र अधिकारी बलात्कारको आरोपमा पक्राउ परेका हुन्।
एसएसपी अधिकारीमाथि चितवनकी एक ३० वर्षीया महिलालाई तालिमकेन्द्रस्थित आफ्नै क्वाटरमा बोलाएर बलात्कार गरेको आरोप लागेको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी जीवनकुमार श्रेष्ठले एक महिलाले बुधबार दिउँसो घटनाका बारेमा प्रहरीलाई जानकारी दिएपछि एसएसपी अधिकारीलाई नियन्त्रणमा लिएको जानकारी दिए।
‘पीडित महिलाले घटनाका सम्बन्धमा प्रहरीलाई फोनमार्फत जानकारी दिएपछि हामीले उहाँ (एसएसपी राजेन्द्र अधिकारी) लाई नियन्त्रणमा लिएका छौँ’, नेपालखबरसँग कुरा गर्दै एसपी श्रेष्ठले भने, ‘उहाँ अहिले हाम्रो नियन्त्रणमा हुनुहुन्छ।’
पीडित महिलाले बुधबार दिउँसो सवा २ बजे प्रहरीको कन्ट्रोल नम्बर १०० मा फोन गरेर घटनाका बारेमा जानकारी दिएको र त्यसपछि प्रहरीले घटनास्थलमै पुगेर एसएसपी अधिकारीलाई पक्राउ गरेको एसपी श्रेष्ठले जानकारी दिए।
उनले पीडित महिलाको स्वास्थ्य जाँच, प्रमाण संकलन तथा थप अनुसन्धान भइरहेको जानकारी दिए।

प्रतिक्रिया