कारोबार


डलरखाता भएका सामाजिक सञ्जाललाई नेपालमा दर्ता गराएर राजस्व असुल्नुपर्ने महालेखाको ठहर

डलरखाता भएका सामाजिक सञ्जाललाई नेपालमा दर्ता गराएर राजस्व असुल्नुपर्ने महालेखाको ठहर

नेपालखबर
असार ३१, २०७७ बुधबार १२:२८,

महालेखापरीक्षकको कार्यालयले मुलुकमा सञ्चालनमा रहेका फेसबुकलगायतका सामाजिक सञ्जाललाई दर्ता गराएर राजस्व असुली गर्नुपर्ने ठहर गरेकाे छ। 

नेपालमा सञ्चालित कतिपय सामाजिक सञ्जाल र ओभर दि टप (ओटीटी) सेवाहरुको लागि अमेरिकी डलर खाताबाट रकम भुक्तानी समेत भइरहेकोले ती सेवालाई नेपालमा दर्ता गरेर राजस्व असुली गर्न महालेखापरीक्षकको ५७औं वार्षिक प्रतिवेदनले सरकारलाई सुझाव दिएको हो।

‘इन्टरनेट सेवामार्फत इन्टरनेट टेलिफोन सेवा प्रदान गर्ने भाइबर, फेसबुक, मेसेन्जर, स्काइप, ह्वाटस् एप, विच्याट, इमो, जुम, बेभेक्स, सिस्कोजस्ता एप्लिकेसनहरु नेपालमा निर्बाध रुपमा सञ्चालन भइरहेको र कतिपय सेवाको लागि अमेरिकी डलर खाताबाट रकम भुक्तानी समेत भइरहेको छ’, प्रतिवेदनमा भनिएको छ।

इन्टरनेट सेवामार्फत सञ्चालनमा आएका त्यस्ता सामाजिक सञ्जाल र ओभर दि टप (ओटीटी) आयकर ऐनको दफा ६७ बमोजिम नेपालको कराधार क्षेत्रभित्र पर्ने भएकोले सेवा प्रदान गर्नुपूर्व दर्ता हुनुपर्ने महालेखाले औंल्याएको छ। कानुनअनुसार दर्ता हुनुपर्ने भए पनि अहिलसम्म कुनै पनि सेवाप्रदायक संस्था दर्ता नभएको उसले आफ्नो ५७औं प्रतिवेदनमा उल्लेख गरेको छ।

‘तसर्थ कानुनी तथा नीतिगत सुधार गरी यी सेवा प्रदायकलाई दर्ता गराई राजस्व असुल गर्ने व्यवस्था गर्नुपर्दछ’, उसले आफ्नो प्रतिवेदनमा भनेको छ।

आयकर ऐन, २०५८ को दफा ६७(६) को (ज) अनुसार तार, रेडियो अप्टिकल्स फाइबर्स वा भू–उपग्रह जस्ता सञ्चार माध्यमबाट सूचना सम्प्रेषण गर्ने व्यवसाय सञ्चालन गर्ने व्यक्तिले नेपालमा स्थापित संयन्त्रबाट खबर वा सूचना सम्प्रेषण गरी प्राप्त गरेको भुक्तानी नेपालमा स्रोत भएको मानिने व्यवस्था छ।

सोही ऐनको दफा ६७(६)ठ (२) मा नेपालमा सञ्चालित क्रियाकलापको सम्बन्धमा गरिएका भूक्तानीको स्रोत नेपालमा हुने व्यवस्था छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad