स्याङ्जामा पहिरोमा पुरिएर तीन जना बेपत्ता भएका छन्।
मंगलबार बिहान पानी बनाउन भनेर गएका ६ जनामध्ये तीन जनाको घटनास्थलबाट उद्धार गरिएको र तीन जना अझै बेपत्ता रहेको स्याङ्जा प्रहरीले जनाएको छ।
स्याङ्जाको कालीगण्डकी गाउँपालिका ४ खहरे स्थितमा पानि बनाउन भनी गएका स्थानीय पहिरोमा परेका हुन्।
उनीहरु जाँदै गर्दा माथिबाट पहिरो आएर पुरिएको भन्ने खवर आउनासाथ जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट प्रहरी उपरीक्षकको कमाण्डमा र वडा प्रहरी कार्यालय वालिङ स्याङ्जाबाट समेत थप प्रहरी टोली खटिएको थियो।
यस्तै बेलटारीबाट नेपाली सेनाको टोली र वालिङबाट सशस्त्र प्रहरीको टोली घटनास्थलमा उद्धारका लागि खटिएको छ।
कालिगण्डकी गाउँपालिका ४ खहरेका हुमनाथ पाण्डे, ईमान सिंह राना र वीरबहादुर रानालाई घाइते अबस्थामा उद्धार गरी गल्याङमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ।
सोही पहिरोमा परी प्रेमचन्द्र पाण्डे, जिमानसिंह थापा र टिकाबहादुर थापा हराइरहेका छन्। नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीले उनीहरुको खोजी गरिरहेको छ।

प्रतिक्रिया