पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको कदमाहा हुँदै उदयपुर जिल्लाको सदरमुकाम गाईघाट जोड्ने गाईघाट-कदमाहा सडकखण्डअन्तर्गत गाईघाटको त्रियुगा नदीको पक्की पुलको पूर्वी भाग भत्कन थालेको छ।
केही दिनअघिको लगातार वर्षा र बाढीका कारण पुल भत्किन सुरु भएको हो।
त्रियुगा पुलको पूर्वीभागको छेउको पिलर र पर्खाल भत्कन थालेपछि पुल उच्च जोखिममा पर्न थालेको ट्राफिक प्रहरी कार्यालय (गाईघाट)ले जनाएको छ।
पुलको पूर्वपट्टिको छेउको पिलरसँगै झण्डै १० मिटर लम्बाइको पर्खाल भत्कन थालेपछि तत्काल पुलको संरक्षण गर्न पूर्वी भागमा रोक लगाएर पुलको पश्चिमी भागबाट मात्र सवारीसाधन सञ्चालन गरिएको ट्राफिक प्रहरी कार्यालय (गाईघाट)का प्रमुख दिनेश चौधरीले जानकारी दिए।
पुलको पूर्वी भाग भत्कन थालेकाले ठूला सवारीसाधनले थप क्षति पु¥याउने सम्भावनालाई ध्यानमा राखेर पूर्वी क्षेत्रको रुट बन्द गरी पश्चिमी क्षेत्रबाट एकतर्फीरूपमा मात्र सवारीसाधन सञ्चालनको अनुमति दिइएको उनले बताए।
त्रियुगा पुल उच्च जोखिममा पर्न थालेपछि भत्किएको भाग तत्काल मर्मत तथा निर्माण सुरु गर्न लागिएको त्रियुगा नगरपालिका (गाईघाट)ले जनाएको छ।
यसका लागि नगपालिकाले तत्कालै दुई जेसीबी प्रयोग गरेर पुलमुनिको माझ भागबाट पानीको सतह खोल्ने, पुलको छेउको पिलर र भत्किएका पर्खाल निर्माण गर्ने र खाल्डा पुर्ने काम सुरु गर्ने प्रमुख चौधरीले बताए।
सोही पुल भएर सदरमुकाम गाईघाटबाट राजधानी काठमाडौँ, विराटनगर, धरान, सप्तरी, सिरहालगायत देशका विभिन्न भागसम्म यातायातका साधन आवतजावत गर्ने गरेका छन्।
समयमै पुलको संरक्षण हुन नसके सदरमुकाम गाईघाट हुँदै अन्यत्रबाट आवतजावत गर्ने सम्पूर्ण यातायात सञ्चालन नै ठप्प हुने अवस्था आउने हुनाले पनि समयमै पुलको संरक्षण गर्न आवश्यक रहेको यातायात व्यवसायीहरूले बताएका छन्।
उक्त पुल २०६३ मा निर्माण सुरु भई २०६६ मा निर्माण सम्पन्न भएको थियो । आठ करोडमा निर्माण भएको उक्त पुलको लम्बाई १२० मिटर र चौडाइ आठ मिटर छ।

प्रतिक्रिया