स्थानीय चमेलिया नदीमा बगेर आइतबार बेपत्ता भएका बैतडीका एक बालकको शव भारतको झुलाघाटमा फेला परेको छ।
बैतडीको डिलाशैनी गाउँपालिका-६ चौसेराका नौ वर्षीय रुपेश नाथको शव फेला परेको प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए।
डिलाशैनी-६ डडियास्थित चमेलिया नदीमा आइतबार दिउँसो २ बजे बगेका बालकको शव बेलुका ७ बजे महाकाली नदीपारि भारतको झुलाघाटमा फेला परेको प्रहरीले जनाएको छ।
बाख्रा चराउन चमेलिया किनार गएका रुपेश नदीमा बगेर आएको बोतल समात्न खोज्दा बगेको गोकुलेश्वर प्रहरी चौकीका प्रहरी नायब निरीक्षक मनोजसिंह साउदले जानकारी दिए।
बालकको शव परीक्षण भारतमै गरिने र आज झुलाघाट नाका खोलेर नेपाल ल्याइने प्रहरी नायव उपरीक्षक अधिकारीले बताए। ‘भारतीय स्थानीय प्रशासन र प्रहरीसँग समन्वय भएको छ’, उनले भने, ‘बालकका दुई जना आफन्तलाई पारि पठाउन भनेका छौं। सोमबार शव ल्याउन नाका खोल्ने सहमति भएको छ।’ रासस

प्रतिक्रिया