ad ad

समाज


२८ लाख खर्चेर नक्कली भान्जा खडा गरी यसरी गरियो अवैध मिर्गौला प्रत्यारोपण

२८ लाख खर्चेर नक्कली भान्जा खडा गरी यसरी गरियो अवैध मिर्गौला प्रत्यारोपण

उजिर कार्की
असार २८, २०७७ आइतबार १३:५९,

नक्कली नातेदार खडा गरेर ललितपुरका एक व्यक्तिको मिर्गौला प्रत्यारोपण गराएको खुलेको छ। प्रहरी, जिल्ला प्रशासन कार्यालयका कर्मचारी, डाक्टर र जनप्रतिनिधिको समेत संलग्नतामा अर्कै व्यक्तिलाई भान्जा बनाएर मिर्गौला प्रत्यारोपण गराएको एक वर्षपछि संलग्न १२ जना पक्राउ परेका छन्।

५५ वर्षीय पुरुषको मिर्गौला प्रत्यारोपण गर्न आर्थिक प्रलोभनमा पारेर ३० वर्षीय व्यक्तिको मिर्गौला निकालिएको प्रहरीको दाबी छ। नक्कली कागजात तयार गरी मिर्गौला प्रत्यारोपण गराउन संलग्न सबैलाई मानव बेचविखन अनुसन्धान व्युरोले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा दुई प्रहरी, तीन जना डाक्टर, एक वडाध्यक्ष, एक जना मिर्गौला लिनेका आफन्त, एक जना बिचौलिया, तीन जना जिल्ला प्रशासनका कर्मचारी र एक जना कानुन व्यवसायी छन्।

जिल्ला प्रशासन कार्यालय चितवनका प्रशासकीय अधिकृत रामचन्द्र ढकाल, जिल्ला प्रशासन कार्यालय ललितपुरका तत्कालीन खरिदार नवराज केसी र कार्यालय सहायक रामकुमार केसी पक्राउ परेका छन्।

चितवन मेडिकल कलेजका प्रमुख सञ्चालक अधिकृत डा. सुप्रभात श्रेष्ठ, कानुनी सल्लाहकार रमेश काफ्ले, डाक्टर बालकृष्ण कालाखेती र नोबेल अस्पतालका डाक्टर राकेशकुमार वर्मा पक्राउ परेका छन्।

त्यस्तै, अर्घाखाची दरबन्दी भई हाल नेपाल प्रहरी अस्पतालमा काजमा कार्यरत प्रहरी सहायक निरीक्षक भीमप्रसाद खनाल र निलम्बित प्रहरी नायब निरीक्षक योगेन्द्रराज थपलिया पनि समातिएका छन्।

ललितपुर महानगरपालिका वडा नं ३ का वडाध्यक्ष श्रीगोपाल महर्जन, भोजपुर घर भई भक्तपुरको जगाती बस्ने रेश्मा राई र भक्तपुरकी जमुना राजभण्डारी पनि पक्राउ परेका छन्। उनीहरुको अवैध मिर्गौला प्रत्यारोपणमा संलग्नता रहेको प्रहरीले जनाएको छ।

यसरी गरियो अवैध प्रत्यारोपण
ललितपुर–३ का ५५ वर्षीय पुरुषको दोश्रो पटक मिर्गौला प्रत्यारोपण गराउनु पर्ने भयो। उनलाई दुई जना बहिनीहरु मिर्गौला दिन पनि तयार भए। तर उनीहरुको मिर्गौला लिन नमिल्ने भएपछि परिवार तनावमा थियो।

यो कुरा भक्तपुर बस्ने रेश्मा राईले थाहा पाइन्। अन्य व्यक्तिको मिर्गौला लिन पनि मिल्छ भन्नेर उनले सुनाइन्। यही क्रममा प्रहरी सहायक निरीक्षक भीमप्रसाद खनाल र निलम्बित प्रहरी नायव निरीक्षक योगेन्द्र थपलियासँग उनको भेट भयो।

रेश्माले बिरामीको परिवारलाई पैसा दिए मिर्गौला किन्न पाइने सुनाइन्। ललितपुरको यो परिवार पैसा खर्च गर्न तयार भयो, रेश्मा र दुई प्रहरीले मिर्गौला दिने व्यक्ति खोजिदिने भए।

रेश्माले ओखलढुंगाका ३० वर्षीय युवालाई भेटिन्। उनी भक्तपुरमै मजदुरी गर्छन्। एउटा मिर्गौलाले काम गर्छ भनेर उनलाई पैसा दिने सर्तमा मिर्गौला दिन राजी गराइयो। उनी मिर्गौला दिन तयार भए।

कागजात मिलाउन प्रहरीले जुक्ति निकाले, मिर्गौला लिनु पर्ने व्यक्तिका भान्जा अस्ट्रेलियामा थिए। उनकै नाममा मिर्गौला दिने गरी उनीहरुले तयारी गरे।

२०१६ मा अष्टे«लिया गएका व्यक्तिको नाममा यहाँ कागजात तयार हुन थाल्यो। सुरुमा सक्कली भान्जाकै नाममा नाता प्रमाणित गरियो। तर, सक्कली भान्जासँगको नाता प्रमाणित कागजातमा फोटो भने ओखलढुंगाका व्यक्तिको हालियो। त्यसलाई रंगीन फोटोकपी गरियो। यो काम निलम्बित सईले गरे। यसअघि पनि उनी नक्कली कागजात तयार गरेको अभियोगमा पक्राउ परेका व्यक्ति हुन्।

nakkali_bhanja_vanja2.jpg

उनीहरुले यी कागजात तयार गरेर ललितपुर वडा नं ३ मा पेस गरे। वडा नं ३ का अध्यक्ष श्रीगोपाल महर्जनले नागरिकतामा भएका व्यक्ति र खडा गरिएका नक्कली भान्जा एउटै भएको प्रमाणित गरिदिए।

यही प्रक्रिया जिल्ला प्रशासन कार्यालय ललितपुरमा पुग्यो, त्यहाँ पनि यी दुई व्यक्ति एकै हुन् भनेर प्रमाणित गरिदियो। ‘निजको अभिलेखको विवरण नागरिकतासँग भिड्छ,’ ललितपुर प्रशासनले लेखेको छ।

उता मिर्गौला प्रत्यारोपणका लागि बिरामीको परिवारले नोवेल अस्पतालका डाक्टर राकेशकुमार वर्मालाई भेट्यो। वर्माले काठमाडौँमा होइन, चितवन मेडिकल कलेजमा प्रत्यारोपण गर्न सुझाए र आफूले सहयोग गर्ने वचन पनि दिए।

त्यसपछि चितवनमा मिर्गौला प्रत्यारोपण गर्ने तयारी भयो। यता कागजात तयार नभइकनै उता अस्पतालले मिर्गौला प्रत्यारोपणका लागि प्रक्रिया सुरु गरिसकेको थियो। त्यो सेटिङ प्रहरी अस्पतालमा कार्यरत असई र नोवेलका डाक्टर वर्माले मिलाएका थिए।

मिर्गौला प्रत्यारोपणका लागि दुवैको सक्कली कागजात चाहिन्छ। तर, अस्पतालले रंगीन फोटोकपी राखेरै मिर्गौला प्रत्यारोपण गरेको पाइएको छ। त्यसमा पनि खास व्यक्ति र अर्का व्यक्तिको फोटो फरक छ। अस्पताल यस्तो अवस्थामा पनि मिर्गौला प्रत्यारोपण गर्न तयार भयो।

नक्कली कागजात तयार गर्दा ओखलढुंगाका ती युवालाई मेरो भाइ हो भनेर जमुना राजभण्डारीले सनाखत गरिन्। प्रशासनका कर्मचारीले अर्कै व्यक्तिको नागरिकतासँग भिड्छ भनेर प्रमाणित गरिदिए।

यिनै नक्कली कागजातको भरमा काम गरेको अस्पतालले प्रमाणीकरणका लागि वडा र प्रशासनमा समेत पठाएको पाइएको छ। तर अस्पतालले पठाएको पत्र अहिले गायब छ।

२०७६ साल जेठ २७ गते मिर्गौला प्रत्यारोपण गरिएको छ। जसका लागि अघिल्लो दिन मात्रै बोर्डको बैठकले प्रत्यारोपणको स्वीकृति दिएको पाइएको छ। बोर्डको स्वीकृति हुनुभन्दा ५ दिन पहिले नै मिर्गौला दिने र लिनेलाई अस्पताल भर्ना गरिसकिएको थियो।

यसरी नक्कली भान्जा खडा गरेर मिर्गौला प्रत्यारोपण गर्दा मिर्गौला लिने व्यक्तिले जम्मा २८ लाख रुपैयाँ खर्च गरेको पाइएको छ। यीमध्ये बिचौलियाले कति लिए, अस्पताललाई कति दिए भन्ने प्रस्ट भइ नसकेको मानव बेचविखन अनुसन्धान ब्युरोले जनाएको छ।

पक्राउ परेकाविरुद्ध जिल्ला अदालत ललितपुरले बुधबारसम्म हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। प्रहरीले घटनाको थप अनुसन्धान सुरु गरेको ब्युरोका प्रमुख एसएसपी डा. देवबहादुर बोहोराले बताए। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .