लमजुङमा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ। अन्य तीन जना सामान्य घाइते भएका छन् ।
बेसीसहर नगरपालिका ७ सातबीसमा गएराति ११ बजे पहिरोले घर पुरिँदा ३२ वर्षीय दीपक तामाङ, उनकी पत्नी २५ वर्षीया बिमाया तामाङ र नौ वर्षीय छोरा सेवाङ तामाङको मृत्यु भएको लमजुङका प्रहरी प्रमुख डिएसपी गंगाबहादुर थापाले जानकारी दिए।
‘भिरालो जग्गामा घर रहेछ। राति खाना खाएर सुतेको बेला ११ बजे माथिबाट आएको पहिरोले घर पुरेछ,’ डिएसपी थापाले शुक्रबार बिहान नेपालखबरसँग भने, ‘उहाँहरु तीनै जनाको मृत्यु भएको छ।’
राति १२ बजे घटनास्थलमा पुगेको प्रहरी टोलीले पहिरोबाट तीनैजनालाई निकालेर जिल्ला अस्पताल पुर्याएकाे थियो। ‘अस्पताल पुर्याउनासाथ डाक्टरले तीनै जनालाई मृत घोषणा गरेका हुन्’, डिएसपी थापाले भने।
पहिरोले वरपरिका अन्य घरमा भने कुनै क्षति नगरेको प्रहरीले जनाएको छ। लमजुङमा बिहीबार साँझदेखि सुरु भएको वर्षा अझै थामिएको छैन।
बिहीबार सिन्धुपाल्चोकमा गएको बाढी र पहिरोमा परी दुई जनाको मृत्यु भएको थियो भने २० जना अझै बेपत्ता छन्।

प्रतिक्रिया