नवनियुक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले बिहीबार पदबहाली गरेका छन्। गृह मन्त्रालयमा दर्ज्यानी चिह्न ग्रहण गरेर फर्किएपछि प्रहरी प्रधान कार्यालयमा कार्यभार सम्हालेका हुन्।
प्रहरी महानिरीक्षक थापालाई प्रहरी प्रधान कार्यालयमा अतिरिक्त महानिरीक्षकद्वय डा. आशा सिंह र हरि बहादुर पाल, प्रहरी नायब महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृत तथा जवानहरुले स्वागत गरेका थिए।

प्रहरी महानिरीक्षक थापा क्षेत्रीले प्रहरी प्रधान कार्यालय परिसरस्थित अमर प्रहरी स्मारकमा पुष्पहार चढाई अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। साथै प्रहरी प्रधान कार्यालय परिसरमा वृक्षरोपण समेत गरेका छन्।

वि.सं. २०२५ मंसिर २३ गते भक्तपुर सूर्यविनायक नगरपालिका–५ मा जन्मिएका क्षेत्री २०४९ वैशाख १९ गते प्रहरी निरीक्षकबाट नेपाल प्रहरी सेवा प्रवेश गरेका थिए।
प्रहरी महानिरीक्षक थापा क्षेत्री २०५८ फागुन १० गते प्रहरी नायब उपरीक्षक, २०६७ पुस २० गते प्रहरी उपरीक्षक, २०७४ साउन १९ गते प्रहरी वरिष्ठ उपरीक्षक, २०७५ असोज २८ गते प्रहरी नायब महानिरीक्षक, २०७६ चैत ९ गते प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति भएका थिए।

राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका क्षेत्रीले कमाण्ड र स्टाफ कोर्ष, लिडरसिप एण्ड म्यानेजमेन्ट ट्रेनिङ प्रोग्राम लगायत विभिन्न १७ वटा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिम हासिल गरेका छन्।

प्रहरी महानिरीक्षक थापा क्षेत्री दुर्गम सेवा पदक, दैवीप्रकोप पिडीतोद्वार पदक, गद्दी आरोहण रजत पदक, प्रसिद्ध सेवा पदक, वीरेन्द्र ऐश्वर्य सेवा पदक, प्रहरी सेवा पदक, गोरखा दक्षिणबाहु चौथो लगायतका विभूषणबाट विभूषित भएका थिए।
थापालाई मंगलबार सरकारले महानिरीक्षकमा नियुक्त गरेको थियो।
भिडियाे -
Shares

प्रतिक्रिया