ad ad

समाज


सेनाको सम्मानसहित कोरोना संक्रमितको शव व्यस्थापन

सेनाको सम्मानसहित कोरोना संक्रमितको शव व्यस्थापन

नेपालखबर
असार २२, २०७७ सोमबार ८:५४,

क्वारेन्टिनमा मृत्यु भएका बागलुङको निसीखोला–२ का २९ वर्षीय सुनिल विश्वकर्माको शव ढोरपाटन नगरपालिका–४ स्थित लुकुरवन खोला नजिकै आइतबार राति व्यवस्थापन गरिएको छ। विश्वकर्माको आइतबार बिहान ढोरपाटन नगरपालिका–४ खुंगास्थित छोरेगाउँ माविको क्वारेन्टिनमा निधन भएको थियो।

यही असार २ गते भारतबाट फर्किएका उनको असार १२ गते स्वाब संकलन गरिएको भए पनि मृत्यु भएपछि मात्र कोरोना संक्रमण भएको पुष्टि भएको हो। सुनिलको शवलाई नेपाली सेनाको अर्जुन बाड गणअन्तर्गत शत्रुमर्दन गुल्मका तीन जना सेनाले आइतबार राति अन्तिम सलामी दिएर बिदाइ गरेको जिल्ला प्रशासन कार्यालय बागलुङका प्रमुख प्रशासकीय अधिकृत धीरेन्द्रराज पन्तले जानकारी दिए। खोला नजिक बगरमा डोजरले खाल्डो खनेर विश्वकर्माको शव गाडिएको छ।

पोखरा, गोरखालगायतका विभिन्न स्थानमा कोरोना संक्रमितको शव व्यवस्थापनमा आएको अवरोधलाई देखेर आफूहरु तयारी अवस्थामा रहेको भए पनि ढोरपाटनमा कुनै अवरोध नभएको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले बताएका छन्।

मृतक विश्वकर्मा चार वर्ष पहिलेबाट क्षयरोगको बिरामी थिए। उनको फोक्सोको देब्रे भागले भारतमा हुँदा नै काम गर्न छोडेको बताइएको छ। असार २ गते भारतबाट फर्किएका विश्वकर्मा ढोरपाटन नगरपालिकास्थित ससुरालीमा होम क्वारेन्टिनमा बसेका थिए। श्रीमती र छोराछोरीसहित असार १२ गते स्वाब संकलनको लागि ढोरपाटन–४ खुंगास्थित छोरेगाउँ माविको क्वारेन्टिनमा पुगेका विश्वकर्माको परिवारलाई सोही दिनबाट क्वारेन्टिनमा राखिएको वडाध्यक्ष तिलक पुनले बताए।

श्रीमती, दुई छोरी र एक छोराको समेत स्वाब संकलन गरी पठाइएकोमा मृतक विश्वकर्मा र एक छोरीको मात्र रिपोर्ट आउन बाँकी थियो। एक छोरी, छोरा र श्रीमतीको कोरोना रिपोर्ट यसअघि नै नेगेटिभ आएको भए पनि विश्वकर्माको स्वास्थ्य अवस्था नाजुक भएको कारणले सपरिवार क्वारेन्टिनको एउटै कोठामा बसिरहेको वडासचिव देवेन्द्र बस्यालले जानकारी दिए। मृतक विश्वकर्माका परिवारका सदस्यको पुनः स्वाब संकलन गरी परीक्षण गरिने बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा मिलन मल्लले जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .