कोरोना भाइरस संक्रमणबाट गएको २४ घण्टामा भारतमा ६ सय १० जनाले ज्यान गुमाएका छन्।
वर्ल्डओमिटरका अनुसार गएको २४ घण्टामा संक्रमणबाट सबैभन्दा धेरै ब्राजिलमा एक हजार एक सय ११ जनाले ज्यान गुमाएका छन् भने मेक्सिकोमा ६ सय ५४ जनाले ज्यान गुमाएका छन्। गएको २४ घण्टामा ब्राजिल र मेक्सिकोपछि भारतमा धेरैको मृत्यु भएको हो।
भारतमा शनिबार एकै दिन २४ हजार २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै भारतमा संक्रमितको संख्या ६ लाख ७३ हजार नौ सय चार पुगेको छ। त्यहाँ अहिलेसम्म संक्रमणबाट १९ हजार दुई सय ७९ जनाले ज्यान गुमाएका छन्।
गएको २४ घण्टामा विश्वभर चार हजार चार सय ८४ जनाले ज्यान गुमाएका छन्। पछिल्लो समय अमेरिकामा कोरोनाबाट हुने मृत्युदरमा उल्लेख्य मात्रामा कमी आउन थालेको छ।
त्यहाँ गएको २४ घण्टामा दुई सय ४९ जनाले मात्र ज्यान गुमाएका छन्। त्यसैगरी रुसमा एक सय ६९, पेरुमा एक सय ८६, चिलीमा एक सय ४१, इरानमा एक सय ४८, कोलम्बियामा एक सय ६५, इरानमा एक सय ६, पाकिस्तानमा ६८ जनाले ज्यान गुमाएका छन्।
विश्वभर अहिलेसम्म संक्रमणबाट ज्यान गुमाउनेको संख्या पाँच लाख ३२ हजार आठ सय ५६ पुगेको छ भने संक्रमितको संख्या एक करोड १३ लाख ७१ हजार चार सय ७ पुगेको छ। यो तथ्यांक आइतबार बिहान ६ बजेसम्मको हो।
गएको २४ घण्टामा विश्वभर गरेर एक लाख ८८ हजार आठ सय ३१ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये अहिलेसम्म ६४ लाख भन्दा धेरै उपचारपछि निको भएका छन्।

प्रतिक्रिया