समाज


धेरै नेपाली रहेको अमेरिकाको टेक्सासमा नयाँ नियम : मास्क नलगाए २५० डलर जरिवाना

धेरै नेपाली रहेको अमेरिकाको टेक्सासमा नयाँ नियम : मास्क नलगाए २५० डलर जरिवाना

नेपालखबर
असार २०, २०७७ शनिबार ६:५०,

अमेरिकाको टेक्सास राज्यका गभर्नर ग्रेग अब्बोटले शुक्रबारदेखि अनिवार्यरुपमा मास्क लगाउनै पर्ने नियम लागु गरेका छन्।

तीब्ररुपमा बढिरहेको कोरोना संक्रमणलाई केही गरी रोक्नै नसकेपछि उनले यो निर्णय लादेका हुन्। 

निकै ठूलो संख्यामा अप्रवासीहरु रहेको टेक्सास धेरै नेपालीहरु बसोबास गर्ने अमेरिकी राज्यहरुमध्ये एक हो।

यसअघि स्थानीय प्रशासनहरुले यस्तो नियम ल्याउँदा त्यसो नगर्न निर्देशन दिएका उनैले अब भने मास्क लगाउन अनिवार्य बनाएका छन्।

अब २० जनाभन्दा बढि संक्रमित रहेका टेक्सासका काउन्टीहरुमा यो नियम लागु हुनेछ।

कुनै कार्यथलो, व्यापार व्यवसाय गर्ने ठाउँ, सार्वजनिकरुपमा खुला रहने भवन, खुला सार्वजनिक ठाउँमा रहँदा सामाजिक दुरी कायम गर्न सक्ने अवस्था छैन भने नाक र मुख राम्रोसँग छोपेर मास्क लगाउनु पर्ने नियममा भनिएको छ।

पहिलो पटक नियम उल्लंघन गर्नेलाई लिखित वा मौखिक चेतावनी दिइनेछ। दोस्रो पटक उल्लंघन गर्नेलाई २५० डलर जरिवाना लगाइनेछ। त्यसपछि हरेक पटक २५० डलर नै लाग्नेछ।

तर, सो नियम उल्लंघन गरेकै कारण कोही पनि जेल नपर्ने स्पष्ट पारिएको छ।

यसमा परिस्थितिलाई हेरी अपवादजनक छुट भने दिइएको छ।

१० वर्षभन्दा कम उमेरका बालबालिका, स्वास्थ्य स्थितिका कारण मास्क लगाउन नमिल्ने, खाना खाइरहेका वा पिइरहेका व्यक्ति र बाहिरी स्थानमा कसरत गरिरहेका व्यक्तिहरुलाई यो नियम लागु हुनेछैन।

गभर्नर अब्बोटले यसअघि कोरोना संक्रमण फैलिरहेकै बेला व्यापार व्यवसाय पुनः सुरु गर्न अनुमति दिएपछि मास्क प्रयोग नगरेकै कारण जरिवाना नलगाउन स्थानीय सरकारहरुलाई निर्देशन दिएका थिए।

तर यो महिनाको सुरुवातदेखि संक्रमितको संख्या ह्वात्तै बढ्न थालेपछि भने उनले सो अडानमा पुनर्विचार गर्ने बताउँदै आएका थिए।

अनिवार्य मास्क प्रयोगसँगै उनले सार्वजनिक स्थलहरुमा १० जनाभन्दा बढि भेला हुन नपाउने नियम पनि ल्याएका छन्। यसअघि उनले १०० जनाको सीमा तोकेका थिए।

उनले बिहीबार एक भिडियो सन्देश दिँदै संक्रमितको संख्याले त्यहाँको ‘तितो यथार्थ देखाएको’ बताएका थिए।

सो राज्यमा तीन दिनसम्म लगातार दैनिक झण्डै ७ हजार संक्रमित अस्पताल भर्ना भएपछि यो कदम चालिएको हाे।

टेक्सासका अस्पतालमा अझैपनि १२ हजार ८९४ बेड र १ हजार ३२२ आईसीयू बेड खालि रहेको जनाइएको छ।

–टेक्सास ट्रिब्युन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad