विश्वभर कोरोना संक्रमितको संख्या झन् झन् बढ्न थालेको छ। गएको दुई दिन विश्वभर दुई लाख भन्दा धेरैका दरले संक्रमित थपिएका छन्।
भारतमा कोरोना संक्रमितको संख्या साढे ६ लाख पुगेको छ। शुक्रबार एकै दिन भारतमा साढे २२ हजार भन्दा धेरै संक्रमित थपिएका छन्। हाल उच्च संक्रमण दर भएका अमेरिका र ब्राजिलपछि भारत तेस्रो स्थानमा छ।
वर्ल्डओमिटका अनुसार शनिबार बिहान ६ बजेसम्म भारतमा कोरोना संक्रमितको संख्या ६ लाख ४९ हजार आठ सय ८९ पुगेको छ। शुक्रबार भारतमा एकैदिन २२ हजार सात सय २१ जना नयाँ संक्रमित थपिएका छन्।
भारतमा अहिलेसम्म कोरोना संक्रमणको कारण ज्यान गुमाउनेको संख्या १८ हजार ६ सय ६९ पुगेको छ। शुक्रबार मात्रै त्यहाँ चार सय ४४ जनाको कोरोना संक्रमणको कारण ज्यान गएको छ।
गएको २४ घण्टामा विश्वभर दुई लाख सात हजार सात सय ६८ जनामा संक्रमण देखिएको छ। बिहीबार पनि विश्वभर दुई लाख भन्दा धेरैमा संक्रमण देखिएको थियो।
अहिलेसम्म विश्वभर संक्रमितमध्ये पाँच लाख २८ हजार तीन सय ७६ जनाको मृत्यु भइसकेको छ। गएको २४ घण्टामा पाँच हजार एक सय ३७ जनाले संक्रमणको कारण ज्यान गुमाएका छन्।
गएको २४ घण्टामा अमेरिकामा साढे ५४ हजार भन्दा धेरै र ब्राजिलमा झण्डै ४२ हजारमा संक्रमण पुष्टि भएको छ। यस अबधिमा ब्राजिलमा संक्रमणको कारण एक हजार दुई सय ६४ जनाले ज्यान गुमाएका छन्।
त्यसैगरी मेक्सिकोमा ६ सय ७९, अमेरिकामा ६ सय १६, रुसमा एक सय ७६, पेरुमा एक सय ८१, चिलीमा एक सय ३१, बेलायतमा एक सय ३६, इरानमा एक सय ५६, दक्षिण अफ्रिकामा एक सय आठ, कोलाम्बियामा एक सय ३६, इराकमा एक सय दुई जनाले ज्यान गुमाएका छन्।

प्रतिक्रिया