काठमाडौं महानगरमा अहिले रुवेला दादुरा खोप अभियान चलिरहेको छ। राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत गएको चैत १९ गतेदेखि सञ्चालन गर्ने लक्ष्य थियो।
कोभिड-१९ को महामारी नियन्त्रण गर्न त्यस समयमा सरकारले बन्दाबन्दी (लकडाउन) जारी गरेपछि खोप कार्यक्रम स्थगित भएको थियो। त्यस बेला कार्यक्रम चलाउन ८० जना खोप कार्यकर्तालाई अभिमुखीकरण दिइएको थियो।
खोप कार्यक्रमअन्तर्गत असार ११, १२ र १३ गते ३ दिन वडा ६, ७, ८, ९, १०, ३१ र ३२ गरी ७ वटा वडामा कार्यक्रम चलाइयो । ७९ वटा वुथ ६९ जना खोप कार्यकर्ता, १३८ जना स्वयमसेवक परिचालन गरेर चलाइएको कार्यक्रममा ३५ हजार ९७४ जना बालबालिकालाई खोप दिने लक्ष्य राखिएको थियो ।
यस्तै दोस्रो चरणमा महानगरका वडा १, २, ३, ४, ५, ११, १२, २६, २७, २८, २९ ३० र १३ गरी १३ वटा वडामा कार्यक्रम चलाइयो। यी वडामा ९३ वटा बुथमा ६८ जना खोप कार्यकर्ता र १३८ जना स्वयंसेवक परिचालन गरियो। यी वडामा २९ हजार ५१४ जना बालबालिकालाई खोप दिने लक्ष्य राखिएको थियो।
आज, वडा १४ देखि २५ सम्म १२ वटा वडामा खोप कार्यक्रम सुरु भएको छ। ती वडाका ९५ वटा वुथबाट भोलि र पर्सि गरी कार्यक्रम चल्नेछ । यसकालागि ६३ जना खोप कार्यकर्ता र १२६ जना स्वयमसेवक परिचालन गरिएको छ । यी वडामा लक्षित बालबालिकाको संख्या ३४ हजार ६०१ रहेको छ ।
यी ३ चरणमा छुटेका बालबालिकालाई असार २० गते वडा क्लिनिकबाट खोप सेवा उपलब्ध गराइनेछ । महानगरभित्र १ लाख उनान्नब्बे बालबालिकालाई खोप दिइने लक्ष्य छ ।
रुवेला दादुराको खोप जन्मेको ९ महिनादेखि माथि र ५ वर्षमुनिका बालबालिकालाई दिइन्छ । सरकारले राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत यो उमेर समूहका बालबालिकालाई नियमित खोप दिइरहेको छ । तर, सबै बालबालिका नियमित खोप कार्यक्रममा नआएका कारण अभियानका रुपमा यो कार्यक्रम चलाउनु परेको हो । महानगरका खोप अधिकृत सूर्य खड्काका अनुसार यसअघि आर्थिक बर्ष २०७२र०७३ पनि यो अभियान चलाइएको थियो । सन् २०२३ सम्ममा नेपालबाट रुवेला दादुरा निवारण गर्ने राष्ट्रिय अन्तरराष्ट्रिय लक्ष्यअनुसार अहिलेको अभियान चलाइएको हो ।
काठमाडौं महानगरले २०७४ पुष २३ गते औपचारिक कार्यक्रम आयोजना गरेर आफूलाई पूर्ण खोप सुनिश्चित महानगर घोषणा गरिसकेको छ । कुनै स्थानीय तहलाई पूर्ण खोप घोषणा गर्न सम्बन्धित तहका १२ देखि २३ महिनासम्मका बालबालिकाको सर्बेक्षण गर्दा, उनीहरुले १ बर्षको उमेरभित्र राष्ट्रिय खोप तालिकाअनुसार खोप प्राप्त गरेको हुनुपर्छ । यस सर्वेक्षणका समयमा ती बालबालिकाहरु कम्तीमा १८ महिनादेखि त्यसै स्थानमा बसोबास गरेको हुनुपर्छ ।
राष्ट्रिय खोप तालिकाअनुसार जन्मेदेखि १ बर्ष भित्रका बालबालिकालाई बि. सि. जि. खोप १ डोज, जन्मेको ४५ दिनदेखि १ महिनाको फरकमा पेन्टाभ्यालेन्ट (डि.पि.टि., हेपाटाइटिस बी, हिब) — ३ डोज, जन्मेको ४५ दिनदेखि १ महिनाको फरकमा ओरल पोलियो, र ९ महिना पूरा भएपछि दादु्रा रुबेलाको खोप — १ डोज दिएको हुनुपर्छ ।
खोप लगाएकै कारण नेपालबाट विभिन्न प्रकारका संक्रामक रोगहरु निवारण तथा नियन्त्रण भएका छन् । तीमध्ये सन् १९७७ मा बिफर रोग उन्मुलन भएपछि थप खोपप्रति नेपाल उत्साहित भएको पाइन्छ । अन्य रोगहरुको अवस्था हेर्ने हो भने सन् २००५ मा धनुटङ्कारबाट हुने मातृ तथा नवजात शिशु मृत्यु निवारण भइको देखिन्छ । त्यस्तै २००६ देखि जापानीज इन्सेफलाइटिस नियन्त्रणमा आएको छ । सन् २०१० अगष्टदेखि पोलियो शून्य अवस्था कायम रहेको छ भने त्यसै बर्षदेखि नेपाल दादुरा नियन्त्रण र निवारणतर्पm उन्मुख रहेको छ ।
नेपालमा सन् २०१४ देखि पूर्ण खोप सुनिश्चितता कार्यक्रम शुरु गरिएको हो ।
सन् २०११ मा गरिएको नेपाल स्वास्थ्य तथा जनसंख्या सर्वेक्षणले देशभरिमा १३ प्रतिशत बालबालिका पूर्ण खोपबाट बञ्चित र ३ प्रतिशत बालबालिकाले एउटै पनि खोप नपाएको देखाएको थियो भने यो संख्या २०१६ मा आइपुग्दा पूर्ण खोपबाट बञ्चित हुने बालबालिकाको संख्या बढेर २२ प्रतिशत र कुनै पनि खोप नपाउने बालबालिकाको संख्या घटेर १ प्रतिशतमा झरेको देखिएको थियो । यो तथ्याङ्कले खोप नलिनेलाई खोपको पहुँचमा ल्याउनु जत्तिको महत्बपूर्ण छ, खोप लिएर हराउने बालबालिकालाई सबै खोप दिने वातावरण तयार पार्नु पनि उत्तिकै महत्वपूर्ण भएको देखाएको छ ।
विगतका अवस्था र तथ्याङ्क बिश्लेषण गर्दा महानगरले प्रभावकारी र गुणस्तरीय नियमित खोप सञ्चालन गर्न प्रत्येक वर्ष हुने घरधूरी सर्वेक्षण, समीक्षा, सूक्ष्म—योजना अद्यावधिक, पूर्ण खोप प्रमाणिकरण जस्ता कार्यक्रममा ध्यान पु¥याउन आवश्यक देखिएको छ ।

प्रतिक्रिया