ad ad

समाज


महाधिवेशन कार्यतालिकामाथि हेरफेरको तयारी गर्दै कांग्रेस

महाधिवेशन कार्यतालिकामाथि हेरफेरको तयारी गर्दै कांग्रेस

नेपालखबर
असार १६, २०७७ मंगलबार ७:३६,

नेपाली कांग्रेसले पार्टीको १४औँ महाधिवेशन आगामी फागुन ७ गते नै गर्ने गरी अन्य अधिवेशनका कार्य तालिकामा हेरफेर गर्ने तयारी गरेको छ।

कांग्रेसको मंगलबार दिउँसो बस्ने केन्द्रीय कार्य समितिको बैठकमा कोभिड–१९ को संक्रमणका कारण प्रभावित पार्टीको १४औँ महाधिवेशनअन्तर्गतको प्रक्रियाका बारेमा छलफल हुने बताइएको छ।

पार्टीको पदाधिकारी र पूर्वपदाधिकारीको आइतबार बसेको बैठकले कांग्रेसको १४औँ महाधिवेशन निर्धारित समय आगामी फागुन ७ देखि १० गते नै गर्ने र अन्य अधिवेशनका तालिकामा हेरफेर गर्न सकिने बारेमा छलफल गरेको थियो।

सो विषयमा केन्द्रीय समिति बैठकले आवश्यक छलफल गरी निर्णय गर्ने महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए।

कांग्रेसले गत माघ १३ गतेको केन्द्रीय समिति बैठकबाट पार्टी मातहत निकायका अधिवेशन र १४ औँ महाधिवेशन सम्पन्न गर्न कार्यतालिका सार्वजनिक गरेको थियो। सो तालिकाअनुसार २०७६ फागुन देखि २०७६ चैतसम्म पार्टीको प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले नयाँ क्रियाशील सदस्यता वितरण र जिल्ला कार्यसमितिले क्रियाशील सदस्यता नवीकरण गर्ने कार्य सम्पन्न गर्ने अवधि तोकेको थियो। तर, कोरोनाका कारण क्रियाशील सदस्यता वितरण र नवीकरण कार्य स्थगित गर्नुपरेको थियो।

कांग्रेसले १४ औँ महाधिवेशनका लागि गाउँ÷नगर वडा अधिवेशन आगामी कात्तिक १६ गते, गाउँ/नगरपालिका अधिवेशन कात्तिक १८ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन कात्तिक २१ गते र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन/एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन कात्तिक २३ गतेका लागि निर्धारण गरेको थियो। यसैगरी एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन कात्तिक २५ गते, प्रदेश अधिवेशन मंसिर २९ गते र केन्द्रीय महाधिवेशन आगामी फागुन ७ देखि १० गतेसम्म काठमाडौँ गर्ने तालिका सार्वजनिक गरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .