समाज


रूपन्देहीमा लाखौंको संख्यामा सलह, मार्नेलाई प्रतिकिलो २० रुपैयाँ दिने प्रदेश सरकारको निर्णय

रूपन्देहीमा लाखौंको संख्यामा सलह, मार्नेलाई प्रतिकिलो २० रुपैयाँ दिने प्रदेश सरकारको निर्णय

नेपालखबर
असार १३, २०७७ शनिबार २३:५७,

रूपन्देही क्षेत्रमा शनिबार बिहानैदेखि ठूलो समूहमा देखिएका कीरा सलह भएको पुष्टि भएको छ। रूपन्देहीको बुटवल क्षेत्रमा देखापरेको कीरा कीटविज्ञले गरेको अध्ययनबाट सलह नै भएको पुष्टि भएको हो।

प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव तेजबहादुर सुवेदीका अनुसार रूपन्देहीको भैरहवास्थित गहुँबाली विकास कार्यक्रमका कीटविज्ञ र प्रदेश कृषि निर्देशनालयका कीटविज्ञको टोलीले संयुक्त रूपमा अध्ययन÷अनुसन्धान गरेको थियो।

बुटवलका विभिन्न क्षेत्रका आकाशमा लाखौँ देखिएको सलह कीरा अहिले बुटवलदेखि उत्तरपश्चिमतर्फ लागेको उनले जानकारी दिए।

‘यो सलह कीरा नै हो, यसले १ दिनमा आफ्नो तौल बराबरको हरियो बाली खाएर नोक्सान गर्छ,’ सचिव सुवेदीले भने, ‘ठूलो संख्यामा आएको सलह कीरा बालीनालीमा बस्यो भने एकै रातमा पूरै सखाप पार्छ।’

बुटवल क्षेत्रमा सलह देखिएपछि शनिबारै प्रदेश सरकार विपद् समितिको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा बसेको बैठकले यसबाट किसानको बालीनाली जोगाउन विभिन्न उपाय अपनाउने निर्णय गरेको छ।

भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री आरती पौडेलले सलहको नियन्त्रणका लागि सरकारले विभिन्न उपाय अबलम्बन गर्ने र क्षति न्यूनीकरणका प्रयास गर्ने जानकारी दिए। उनले अहिले रोप्न ठीक्क पारिएको धानको बीउ नोक्सान गर्ने सम्भावना रहेकाले यसलाई जोगाउने उपाय अबलम्बन गर्न आग्रह गरे।

सलह जम्मा गरेर माछा, कुखुरा र बंगुरको दानाका लागि प्रयोग गर्न सकिने विज्ञले बताएका छन्। भूमि व्यवस्था मन्त्रालयले किसानले सलह जम्मा गरेर स्थानीय तहमार्फत वडा कार्यालयमा ल्याएमा प्रतिकिलो २० रुपैयाँका दरले नगद उपलब्ध गराइने निर्णय गरेको मन्त्रालयका सचिव सुवेदीले जानकारी दिए।

मन्त्रालयले सलह नियन्त्रण गर्न मालाथिन वा क्लोरपाइरिफोस नामका विषादी प्रतिलिटर २ एमएल राखेर छर्कन सल्लाह दिएको छ।

प्रदेश कृषि निर्देशनालयका निर्देशक यामनारायण देवकोटाले सलहको जन्म मरुभूमिमा हुने र लगातार वर्षामा उड्न नसक्ने अध्ययनबाट देखिएको तर नेपालमा कसरी आयो भन्ने यकिन गर्न नसकिएको बताए ।

मन्त्रालयका सूचना अधिकारी विनोद ज्ञवालीले यो कीरा नेपालमा भारततर्फबाट आएको अनुमान गरे। जल तथा मौसम विभागले सलह आफ्नो बाटो भारत पश्चिम बंगालतिर जाने अनुमान गरेको छ।

शनिबार बिहान यस क्षेत्रमा प्रवेश गरेको सलह उत्तरपश्चिमतर्फ लागेकाले गुल्मी अर्घाखाँचीतर्फ क्षति पु¥याउने सम्भावना रहेको उनले बताए।

मौसम विभागले आइतबार र सोमबार पश्चिमतर्फ लाग्न सक्ने भएकाले त्यस क्षेत्रमा यसले क्षति पुर्‍याउन सक्ने अनुमान गरेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad