अमेरिकाका शीर्ष सरुवा रोग विशेषज्ञ डा. एन्थोनी फाउचीले अमेरिका कोरोना महामारीको गम्भीर अवस्थामा रहेको बताएका छन्।
अहिले अमेरिकाका १६ राज्यमा कोरोना संक्रमितको संख्या लगातार बढिरहेको छ।
पछिल्लो २ महिनायता पहिलोपटक भएको कोरोनासम्बन्धी ह्वाइट हाउस टास्क फोर्सको ब्रिफिङमा शुक्रबार डा.फाउचीले देशका केही क्षेत्रमा अहिले अति गम्भीर समस्या रहेको र अन्य क्षेत्रमा पनि यस्तै अवस्था आउन सक्ने जोखिम रहेको बताएका हुन्।
लकडाउन खुकुलो बनाउन हतारो गरिएका कारण संक्रमण पुनः बढ्न थालेको अनुमान उनले गरेका छन्। यस्तै सकारले जारी गरेका निर्देशन नागरिकले पालना नगर्नु पनि गम्भीर समस्या रहेको उनको भनाइ छ।
‘आफ्ना लागि व्यक्ति आफैं जिम्मेवार रहन्छ र उसको सामाजिक जिम्मेवारी पनि हुन्छ,’ डा. फाउचीले ब्रिफिङमा भने, ‘हामी महामारी अन्त्य गर्न चाहन्छौं भने बुझ्नुपर्छ- त्यसको हिस्सा हामी पनि हौं।’
संक्रमितको संख्या बढ्दै गएपछि टेक्सास, फ्लोरिडा र एरिजोना राज्यमा लकडाउन खुलाउने योजना तत्कालका लागि थाँती राखिएको छ ।
अमेरिकाका स्वास्थ्य अधिकारीले संक्रमितको वास्तविक संख्या अहिले थाहा भएभन्दा १० गुणा बढी अर्थात् २ करोड हुन सक्ने अनुमान गरेका छन्।
वर्ल्डओमिटरका अनुसार शनिबार बिहान ७ः४५ सम्म अमेरिकामा संक्रमितको संख्या २५ लाख ५२ हजार ९५६ पुगेको छ भने तीमध्ये १ लाख २७ हजार ६ सय ४० जनाको मृत्यु भइसकेको छ।
यस्तै संक्रमितमध्ये अहिलेसम्म १० लाख ६८ हजार ७ सय ३ जना भने निको भइसकेको वर्ल्डओमिटरकाे तथ्यांकले देखाएकाे छ।

प्रतिक्रिया