मनसुन सुरु भएसँगै पानीको अभाव टार्न त्यसको सञ्चय गर्ने अवसर पनि यति बेला नै हो भन्नेमा तपाईंले हेक्का पु¥याउनुभएको छ?
घरको छानोबाट झर्ने पानी सङ्कलन गरी रिजर्भ ट्याङ्कीमा भर्ने बेला सुरु भएको छ ।
वर्षाको पानी सही तरिकाले सदुपयोग गर्न सक्ने हो भने घरका सबै काममा उपयोग गरेर पानीको सङ्कट टार्न सकिने अध्ययनबाट देखिएको खबर आजको गोरखापत्र दैनिकमा शिवा तामाङले लेखेकी छन् ।
यस विषयमा स्थानीय तहले पनि व्यावहारिक नीति बनाउन थालेका छन् । विशेष गरी सहरी क्षेत्रमा पानीको सधैँ हाहाकार हुन्छ । यस्तो अवस्थामा आकाशे पानी सङ्कलन गरी पानीको अभाव टार्ने उपाय भएको बताउँछन् गुठीका प्राविधिक सल्लाहकार प्रकाश अमात्य ।
राजधानीका बासिन्दाले मेलम्चीको पानी चलाउने सपना देखेको करिब दुई दशकभन्दा बढी भयो । त्यो सपना अझै धकेलिने स्थिति छ । यस्तो बेलामा आकाशे पानी सङ्कलन र पुनर्भरण कार्यलाई विशेष जोड दिन सके पानीको अभाव आफ्नै सुझबुझले हटाउन सकिने अमात्यले बताए।
काठमाडौँ महानगरपालिका–१५ का वडाध्यक्ष एवं महानगरका प्रवक्ता ईश्वरमान डङ्गोलले डल्लु आवास क्षेत्रमा घर बनाउँदा आकाशे पानी सङ्कलन गर्न नक्सा पारित गर्दा अनिवार्य बनाइएको जानकारी दिए।
वडा १५ को भवन र त्यस वरपरका घरको छानाबाट झर्ने पानी इनारमार्फत पुनर्भरण गरिएको बताउँदै उनले हरेक घर, टोलले छानाबाट झर्ने पानी सङ्कलन र बढी भएको पानी पाइपमार्फत जमिनमै पुनर्भरण गर्ने हो भने बाढी पनि नआउने तथा धारा, इनारमा पानीको अभाव नहुने बताए।
मनसुनको समयमा आकाशबाट झर्ने पानी सङ्कलन र सदुपयोग गर्न सके पानीको सङ्कट सधैँका लागि हटाउन सकिने छ। नेपालमा वार्षिक १६ सय मिलिमिटर पानी पर्छ । सुरुको करिब तीन पटक जतिको पानी छानाबाट त्यत्तिकै बग्न दिँदा छानो सफा हुन्छ।
त्यसपछि छानामा बनाइएका प्लास्टिकका संरचना, पाइपमार्फत सङ्कलन गरिएको पानी घरका सम्पूर्ण काममा चलाउन सकिन्छ भने पानी निर्मलीकरणको उपाय अपनाएर पिउनसमेत मिल्छ अमात्य बताउँछन्।
सङ्कलन गरी बढी भएको पानी इनार र रिचार्जमार्फत जमिनमा पठाउन सकिने अमात्यको प्राविधिक सुझाव छ । गुठीले गरेको अध्ययन अनुसार पाँच आना जग्गामा बनेको घरको छानाबाट वर्षामा एक लाख २८ हजार लिटर पानी सङ्कलन गर्न सकिन्छ । यसको ८० प्रतिशत मात्र पानी उपयोग गर्ने हो भने एक लाख दुई हजार चार सय लिटर पानी सञ्चय वा उपयोग गर्न सकिन्छ।
उक्त अध्ययन अनुसार काठमाडौँका सम्पूर्ण घरको छानाको पानी सङ्कलन गरे वार्षिक एक अर्ब २८ करोड लिटर पानीको जोहो गर्न सकिन्छ ।
Shares

प्रतिक्रिया