समाज


आज पनि यी क्षेत्रमा बाढी, पहिरो र डुबानको सम्भावना छ: माैसमविद्

आज पनि यी क्षेत्रमा बाढी, पहिरो र डुबानको सम्भावना छ: माैसमविद्

नेपालखबर
असार ९, २०७७ मंगलबार ०:४०,

केही दिनदेखि जारी वर्षा अझै रोकिएको छैन। अहिले (मंगलबार बिहान) पनि देशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार अहिले विशेषगरी पूर्वी तराई तथा सुदूरपश्चिमका केही स्थानमा वर्षा भइरहेको छ।

महाशाखाले मंगलबार बिहान प्रकाशन गरेको मौसमी बुलेटिनअनुसार आज दिउँसो प्रदेश १, २, बागमती, गण्डकी, ५ नम्बर र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ।

यसैगरी राति पनि सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ। साथै प्रदेश १, २, गण्डकी र प्रदेश नम्बर ५ का एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ।

महाशाखाले मंगलबार बिहान ६ बजे जारी गरेको आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्शमा भनिएको छ:
देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनाका साथै प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश र प्रदेश ५ एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ। तसर्थ ती क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढलरपानीको राम्रो निकास नभएका ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

यस्तै बाढी पूर्वानुमान महाशाखाले पनि पछिल्लो ३ घण्टामा इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, कैलाली कञ्चनपुर र आसपास क्षेत्रमा मध्यमदेखि भारी वर्षा भइरहेकाले कन्काईलगायत झापा, मोरङ, सुनसरी भई बहने साना नदीमा बाढी आउने सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ।

 

यही जुन १२ मा नेपाल प्रवेश गरेको मनसुन जुन २१ देखि देशव्यापी रूपमा सक्रिय भएको हो। अझै तीन दिन वर्षा रोकिने सम्भावना नरहेको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाले सामान्यतया ३ दिनसम्मको मौसम अनुमान गर्ने गरेको छ।

याे पनि: पाल्पामा पहिरो : मृतकको संख्या तीन पुग्यो

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad