इलामको एक गाउँमा एउटै हाँगामा झुन्डिएको अवस्थामा देवर-भाउजु मृत फेला परेका छन्।
घटनास्थल पुगेको मंगलबारेस्थित इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक राजकिशोर साह तेलीका अनुसार इलामको माङसेबुङमा गाउँपालिका वडा नम्बर ६, टोड्के भन्ने ठाउँका २७ वर्षीय विशाल राई र उनकै भाउजु २६ वर्षीया गीता राई एउटै रूखको हाँगोमा डोरीको पासो लगाएर झुन्डिएको अवस्थामा मृत फेला परेका हुन्।
उनका अनुसार उनीहरू सहोदर देवर–भाउजु हुन्। दुवै विवाहित हुन् । भाउजुको पति रोजगारीका लागि विदेशमा छन्।
‘यिनीहरू एक दिनअघि नै घरबाट बेपत्ता भएका रहेछन्,’ प्रहरी निरीक्षक साहले शनिबार बिहान टेलिफोनमा नेपालखबरसँग भने, ‘खोजी गर्दै जाँदा शुक्रबार घरदेखि ६०० मिटरजति पर दारिमको रूखको एउटै हाँगामा प्लास्टिकको डोरीमा दुवै जना झुन्डिएको अवस्थामा फेला परेका हुन्।’
प्रहरी निरीक्षक साहका अनुसार शुक्रबार बिहान १०–११ बजे स्थानीयले खबर गरेपछि मंगलबारे इलाका प्रहरी कार्यालयबाट उनकै नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको हाे।
‘धेरै विकट ठाउँ हो, त्यसमाथि पानी पर्याे, ८–९ घण्टा हिँडेर पुगियो,’ उनले भने, ‘पोस्टमार्टमका लागि दुवैको शव पाँचथरको रविस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा शुक्रबार राति ११ बजे पुर्याइयाे।’
घटनाको प्रकृति हेर्दा आत्महत्या नै जस्तो देखिएको तर थप अनुसन्धान भइरहेको उनले बताए। ‘आत्महत्या नै भए पनि किन गरे भन्ने विषयमा अहिले केही खुलिसकेको छैन,’ प्रहरी निरीक्षक साहले भने, ‘हामी अनुसन्धान गर्दै छौं, पीडित पक्षबाट उजुरी पनि आउँदै छ।’

प्रतिक्रिया