समाज


कञ्चनपुरका नदीमा साइरन जडान

कञ्चनपुरका नदीमा साइरन जडान

नेपालखबर
असार २९, २०७६ आइतबार १०:८,

मुलुकभर वर्षापछि बाढीपहिरो जस्ता विपद्ले जनधनको क्षति भइरहेका बेला कञ्चनपुरमा भने त्यसको पूर्वसावधानीका लागि स्थानीय निकाय अग्रसर भएका छन्। जिल्ला विपद् व्यवस्थापन समितिले जिल्लाका सबै स्थानीय तह गैरसरकारी संस्था तथा सुरक्षा निकायलाई तयारी अवस्थामा बस्न आग्रह गरेको छ।

कञ्चनपुर जिल्लाका बाढी प्रभावित हुनसक्ने क्षेत्रमा सुरक्षित ठाउँको समेत पहिचान गर्न स्थानीय तहलाई आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले बताए। यहाँको लालझाडी गाउँपालिका र महाकाली नगरपालिकाका केही बस्ती डुबानको उच्च जोखिममा रहेका छन्।

महाकाली नदीको तटीय क्षेत्रका बासिन्दालाई पनि सचेतना अपनाउन आग्रह गरिएको छ। विपद् व्यवस्थापन समितिले यहाँको महाकाली नगरपालिकाको कुतियाकवर, मायापुरी, जामुनघाडी, राप्ती टोललाई डुबानको उच्च जोखिममा राखिएको छ।

लालझाडी गाउँपालिकाको नन्द गाउँ, डुङ्गा, बल्मी, गौरी, होरीमोहना गाउँलाई पनि डुबान हुनसक्ने क्षेत्रमा राखिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

महाकाली नगरपालिका महाकाली र जोगबुढा नदीमा आउने बाढीको उच्च जोखिममा रहेको छ भने यहाँको दक्षिण क्षेत्रमा दोदा र मछेली नदीले बढी नोक्सान पु¥याउँदै आएको छ। ‘सुरक्षा निकायलाई तयारी हालतमा राखिनुका साथै विभिन्न नदीमा पानीको सतहमापन गर्न साइरन जडान गरिएको छ’ प्रजिअ वैद्यले भने, ‘जिल्लामा दातृ संस्थासित रहेको राहतको लगत पनि बुझ्दैछौं।’

त्यसैगरी नेपाल रेडक्रस सोसाइटी कञ्चनपुर शाखाले पनि विपद्को बेला हुनसक्ने मानवीय क्षतिलाई मध्यनजर गर्दै जिल्लाभरि रहेका उप–शाखाहरुमार्फत पूर्व तयारीमा जुटेको छ। ‘बाढी आउँदा बढी क्षति हुने दक्षिण क्षेत्रमा नदी किनारमा हामीले समूह बनाएर उद्धार तथा प्राथमिक उपचार तालीम पनि दिएका छौं।’

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा प्रमुख मनोजप्रसाद उप्रेतीले भने, ‘केही दिनअघि मछेली नदीको उद्गमस्थलमा पनि ‘वायोमेट्रिक सिस्ट्म’ जडान गरिएको छ।’

महाकाली नदीमा दार्चुलाको दत्तु र डडेल्धुराको परिगाउँमा बाढीको पूर्व सूचना दिने मेसिन जडान गरिएको छ। परिगाउँबाट कञ्चनपुर पानी पुग्न करीब आठ घण्टा समय लाग्ने भएकाले त्यो समयमा बाढी प्रभावित क्षेत्रमा पूर्व तयारीको पर्याप्त रहेको जिल्ला रेडक्रस सोसाइटीले जनाएको छ।

रेडक्रसको जिल्ला शाखामा २०० परिवार र क्षेत्रीय स्टोरमा चार हजार परिवारलाई पुग्ने गैरखाद्य राहत भण्डारण गरिएको कार्यालय प्रमुख उप्रेतीले जानकारी दिए। जिल्ला प्रशासन कार्यालयको तथ्याङ्क अनुसार गत वर्ष वर्षात्का बेला जिल्लामा ६० हजारदेखि ६५ हजार जनसङ्ख्या प्रभावित भएका थिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad