रुकुम पश्चिमको चौरजहारी हत्याकाण्डमा ३४ जनाविरुद्ध अदालतमा मुद्दा दर्ता गरिएको छ।
आइतरबार सरकारी वकिल कार्यालयले ३४ जनालाई प्रतिवादी बनाएर अदालतमा मुद्दा दर्ता गरेको हो। ३४ जनालाई कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, जातीय छुवाछुतलगायत मुद्दा लगाइएको श्रोतले नेपालखबरले जानकारी दियो। ३४ मध्ये २९ जना हिरासतमै रहेको र ५ जना फरार रहेको स्रोतले बतायो
सो मुद्दामा युवती, उनका बुबाआमा, वडाध्यक्षसहित चौरजहारीका ३४ जनालाई प्रतिवादी बनाइएको छ। प्रहरीले मृतक ६ जनालाई नै गाउँलेले कुटेर बेहोस् अवस्थामा खोलामा फालेको निष्कर्ष निकालेको श्रोतले जनाएको छ।
‘पोष्टमार्टमको रिपोर्ट र अन्य अनुसन्धानले बेहोस् बनाएर फालेको हाम्रो ठहर हो’, श्रोतले भन्यो।
जेठ १० गते जाजरकोटको भेरी नगरपालिकाका नवराज विक ठकुरी परिवारकी प्रेमिका लिन १८ जना चौरजहारी पुगेका थिए।
१८ मध्ये १२ जना सम्पर्कमा आए पनि ६ जना भेरी नदीमा बेपत्ता भएका थिए। ३ जना सोही दिन र अन्य तीन जनाको शव फरक–फरक मितिमा फेला परेको थियो।
भेरी नगरपालिका–४ का नवराज विक र गणेश बुढा, चौरजहारी–८ का टीकाराम सुनारको शव घटना भएकै दिन नदीमा फेला परेको थियो भने भेरी नगरपालिका वडा नं ११ का लोकेन्द्र सुनार, सन्दीप विक र गोबिन्द शाहीको शव पछि फेला परेको थियो।
घटनाको अनुसन्धानमा केन्द्रीय प्रहरी इकाईको कार्यालय र केन्द्रीय अनुसन्धान ब्युरोको टोली पनि त्यहाँ पुगेको थियो।

प्रतिक्रिया