चितवनको माडी नगरपालिका क्षेत्रलाई पाँच दिनका लागि सिल गरिएको छ। बुधबार बसेको नगरस्तरीय कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिको बैठकले बिहीबारदेखि लागू हुने गरी पाँच दिनसम्मका लागि नगरलाई सिल गर्ने निर्णय गरेको हो।
यस अवधिमा अत्यावश्यकीय सवारी साधनबाहेक अन्यको हकमा माडी प्रवेश गर्न र बाहिर जान पूर्णरूपमा बन्द गरिएको नगरप्रमुख ठाकुरप्रसाद ढकालले जानकारी दिए। जिल्लामा कोरोना सङ्क्रमित बढ्नुका साथै माडी नगरपालिकामा नै संक्रमित देखिएपछि यस्तो निर्णय गरिएको ढकालले बताए।
समितिको निर्णयअनुसार माडीभित्र पनि सबै मोटरसाइकल, अटो, टेम्पोलगायत सवारी साधन चलाउन पूर्णरूपमा रोक लगाइएको छ। अबको पाँच दिनसम्म कुनै पनि बहानामा सवारी साधन चलाउन नपाइने ढकालले जानकारी दिए।
यस्तै अत्यावश्यकीय सेवा प्रदान गर्ने संस्था तथा पसलबाहेक अन्य सङ्घसंस्था तथा पसल पूर्णरूपमा बन्द गराउने, अति आवश्यक कामले घर बाहिर निस्कनुपरेमा सुरक्षाकर्मीलाई जानकारी गराउनुका साथै सामाजिक दूरी कायम गरी मास्कको प्रयोग अनिवार्यरूपमा गर्ने, सङ्घसंस्था तथा पसलमा हात धुने व्यवस्था र सामाजिक दूरी कायम गर्ने÷गराउने निर्णय भएको छ।
यस्तै स्वास्थ्यसम्बन्धी कुनै समस्या भएमा नजिकको स्वास्थ्य संस्था वा बघौडा अस्पतालमा सम्पर्क गर्ने निर्णय गरिएको नगरप्रमुख ढकालले बताए।
माडीमा पहिलोपटक सोमबार छ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो। उनीहरु भारतबाट आएर सोमेश्वर माविको क्वारेन्टिनमा बस्दै आएका थिए। उनीहरु हाल भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालमा उपचारको क्रममा छन्। रासस
Shares

प्रतिक्रिया