मकवानपुरको हेटौँडामा टिपरले स्कुटरलाई ठक्कर दिँदा प्रहरीका हवल्दारको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बुधबार राति टिपरको ठक्करबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडा कार्यालयमा कार्यरत प्रहरी हबल्दार केशरदोर्जे थिङको मृत्यु भएको हो।
प्र३–०२–०१२प १३३८ नम्बरको स्कुटरमा सवार थिङलाई हेटौँडाको राप्ती पुलबाट बजारतर्फ आउँदै गर्दा जिल्ला प्रहरी कार्यालय नजिकै ना८ख ७५५८ नम्बरको टिपरले ठक्कर दिएको थियो।
दुर्घटनामा थिङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए। टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। रासस

प्रतिक्रिया