सामान्यतया नेपालमा मनसुन अर्थात् वर्षा याम सुरु हुने दिन आज अर्थात् जुन १० तारिख हो। तर बर्खा सुरु हुन अझै केही दिन लाग्ने देखिएको मौसमविद्ले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलका अनुसार नेपालमा सामान्यतया जुन १० तारिखमा मनसुन सुरु हुने गर्छ तर ठ्याक्कै त्यही दिन नभएर केही दिन अघिपछि पनि हुने गर्छ।
यसपटकचाहिँ १ हप्ताभित्र मनसुन अर्थात् बर्खा सुरु हुने अनुमान रहेको उनले जानकारी दिइन्। ‘ठ्याक्कै यही दिन सुरु हुन्छ भनेर त भन्न सकिन्न, तर यो हप्ताभित्र मनसुन सुरु हुने देखिएको छ,’ बुधबार बिहान नेपालखबरसँग माैसमविद् कँडेलले भनिन्।
मनसुन सुरु हुनाका लागि नेपालको पूर्वी भूभागमा दक्षिण-पूर्वी हावा चल्नुपर्ने हुन्छ भने धेरै खालका प्रक्रिया पूरा हुनुपर्छ। ‘धेरै प्रक्रिया पूरा भइसकेका छन्,’ मौसमविद् कँडेलले नेपालखबरसँग भनिन्, ‘केही लक्षण पनि देखिइसकेका छन्, तर मनसुन नै देखिन एक हप्ता लाग्ने देखिन्छ।’
यस वर्ष औसत वर्षा हुने अनुमान रहेको उनले जानकारी दिइन्।
आजको मौसम
मौसमविद् शान्ति कँडेलका अनुसार यतिबेला .(बुधबार बिहान ७ः३० बजे) विशेषगरी सुर्खेत आसपास, गण्डकी र वागमती प्रदेशमा बदली भएको छ भने थोरै स्थानमा हल्का वर्षा पनि भइरहेको छ।
आज दिउँसो पनि प्रदेश १, वागमती, गण्डकी प्रदेशमा सामान्य बदली भई थोरै स्थानमा क्षणिक वर्षाको सम्भावना छ। यस्तै प्रदेश २ का पनि एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। यसैगरी दिउँसोपछि काठमाडौं उपत्यकामा पनि क्षणिक वर्षाको सम्भावना छ।
प्रतिक्रिया