ad ad

समाज


कोरोना संक्रमित युवा उज्यालाे नहुँदै क्वारेन्टाइनबाट बेपत्ता

कोरोना संक्रमित युवा उज्यालाे नहुँदै क्वारेन्टाइनबाट बेपत्ता

नेपालखबर
जेठ २४, २०७७ शनिबार ५:४०,

रामेछापको गोकुलगंगा गाउँपालिकाले सञ्चालन गरेको क्वारेन्टाइनबाट कोरोना संक्रमित एक युवा भागेर बेपत्ता भएका छन्। क्वारेन्टाइन्बाटै संक्रमित भागेपछि जिल्लामा खैलाबैला मच्चिएको छ।

गाउँपालिकाले सञ्चालन गरेको क्वारेन्टाइनबाट गोकुलगंगा गाउँपालिका ४ का २५ वर्षीय युवा भागेर बेपत्ता भएका हुन्। शुक्रबार बिहान उज्यालाे नहुँदै क्वारेन्टाइनबाट ती युवा भागेपछि सम्पर्कमा नआएका गोकुलगंगा गाउँपालिकाका अध्यक्ष खड्गबहादुर सुनुवार जानकारी दिए।

‘अहिले हामी उनको खोजी गरिरहेका छौं,’ अध्यक्ष सुनुवारले शनिबार बिहान नेपालखबरसँग भने, ‘अहिले सबैतिर उनको खोजी भइरहेको छ। रातभर नसुति नसुति हामी संक्रमितको व्यवस्थापनमा लागेका छौं।’

धुलिखेल अस्पतालमा पीसीआर परीक्षण गर्दा शुक्रबार रामेछापका १७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। यसको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार साँझ दिएको हो। संक्रमितमध्ये गोकुलगंगा गाउँपालिकाका ११ र लिखुतामाकोसी गाउँपालिकाका ६ जना छन्।

गोकुलगंगा गाउँपालिकाले ११ जनालाई कोरोना परीक्षणको रिपोर्ट नआउँदै क्वारेन्टाइनबाट घर पठाएको भनेरसमेत आलोचना भइरहेको छ। तर, अध्यक्ष सुनुवारले भने त्यसरी भइरहेको प्रचार झुटो भएको बताए।

‘कोरोना महामारीको बेला यहाँ विपक्षीहरुले राजनीति गरिरहेका छन्, अध्यक्षले रिपोर्ट नआउँदै हात मिलाएर संक्रतिलाई घर पठायोसम्म भनेर प्रचार गरिएको छ,’ सुनुवारले भने, ‘त्यो सबै झुटा प्रचार हुन्। हाम्रो गाउँपालिकाका ११ मध्ये नौ जना संक्रमित जिल्ला अस्पताल पुगिसकेका छन्। एक जनालाई लैजाने तयारी हुँदै छ। एकजना क्वारेन्टाइनबाट भागेका हुन्, उनको खोजी चलिरहेको छ।’

सुनुवारले गोकुलगंगाका संक्रमित सबै एक साता अघि मात्रै भारतबाट गाउँ आएका जानकारी दिए। ‘भारतीय सीमा नाकाबाट उद्धार गरेर ल्याइएकालाई हामीले गाउँपालिकाको क्वारेन्टाइनमा राखेका छौँ। त्यसरी राखिएकामध्ये ११ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ,’ उनले भने।

स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कर्णका अनुसार रामेछापबाट पछिल्लो समय पठाइएका ७० जनामध्ये ४० जनाको रिपोर्ट आएको जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .