समाज


सेती अस्पतालबाट डिस्चार्ज गरिएका ६ जना संक्रमित अस्पतालमै फिर्ता

सेती अस्पतालबाट डिस्चार्ज गरिएका ६ जना संक्रमित अस्पतालमै फिर्ता

गोकुल जोशी
जेठ २३, २०७७ शुक्रबार १४:२९,

शुक्रबार दिउँसो सेती प्रादेशिक अस्पतालबाट डिस्चार्ज गरिएका ६ जना कोरोना संक्रमितलाई अस्पतालले फेरि फिर्ता ल्याएको छ।

डिस्चार्ज भएपछि अलपत्र परेका उनीहरुलाई ५ घण्टापछि पुनः अस्पताल ल्याएर आइसोलेसनमा राखिएको हो।

शुक्रवार करिब २ बजेतिर आइसोलेसनबाट बैतडीका ४ र अछामका २ जना डिस्चार्ज भएका थिए। तर डिस्चार्ज गर्ने र व्यवस्थापनको पक्षमा समन्वयको अभावबीच संक्रमित आइसोलेसनबाट निकालिए पछि सडकमा अलपत्र परेका थिए।

स्वास्थ्य मन्त्रालयको कोभिड–१९ निर्देशिका अनुसार अछामको मेल्लेख गाउँपालिका–४ का बुवाछोरी र बैतडीको शिवनाथ गाउँपालिका–१ र २ का गरी ६ जना संक्रमित आइसोलेसनबाट बाहिर पठाइएका थिए।

‘मन्त्रालयको निर्देशिका अनुसार लक्षण नदेखिएका र अवस्था जटिल नभएका संक्रमितलाई डिस्चार्ज गरिएको हो। उनीहरुमध्ये कसैको पछिल्लो रिपोर्ट नेगेटिभ छ, कसैको पोजेटिभ नै छ।’ सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले भने, ‘लक्षण नदेखिए पछि १४ दिनको उपचारले निको हुन्छन्, यसले संक्रमण सार्दैन।’

कोरोना निको नभएरै घर फर्किन लागेका बैतडी र अछामका ती ६ संक्रमित पानीमा भिज्दै गाडीको पर्खाइमा झण्डै ५ घण्टा धनगढीमै बिताएका थिए। अस्पतालको आइसोलेसनबाट गाउँ जान लागेका संक्रमितलाई सम्बन्धित ठाउँसम्म पुर्‍याउन कैलालीको प्रशासन र बैतडी/अछामको प्रशासनबीच समन्वय नहुँदा संक्रमित अलपत्र परेका थिए। जिल्ला प्रशासन कार्यालय कैलालीले उनीहरुलाई सम्बन्धित ठाउँमा पुर्‍याउन गाडी पास उपलब्ध गराउने बाहेक अरु केही गर्न नसक्ने जनाएको छ।

‘अस्पतालबाट डिस्चार्ज भए पछि उनीहरु आम नागरिक सरह हुन्, हामी उहाँलाई गाडी पास उपलब्ध गराउन सक्छौँ, गाडी उहाँहरुले नै व्यवस्था गरेर जान सक्छन्’ जिल्ला प्रशासन कार्यालयका एक अधिकारीले भने।

उता जिल्ला प्रशासन कार्यालय बैतडीलाई आफ्ना जिल्लाका संक्रमित अस्पतालबाट घर फर्किरहेको भन्ने बारे कुनै जानकारी नै दिइएको थिएन।

‘अस्पतालबाट डिस्चार्ज भएर हिँड्दै आउँदै गरेको भन्ने कुरा सामाजिक सञ्जाल र पत्रकारहरुबाट थाहा पाएको छु, हामीले बुझ्न भनेका छौँ’ बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले भने।

समन्वय अभावमा बिरामी अलपत्र परेपछि ति ६ जनालाई फेरि अहिले अस्पतालमा ल्याइएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले बताए।

‘त्यहाँको स्थानीय तहले गाडी पठाउने भनेको थियो केही ढिला भयो। त्यसैले उहाँहरुलाई फेरि अस्पताल ल्याइएको छ। भोलि गाडी पुग्छ, भोली जानुहुन्छ’ उनले भने।

उनीहरुलाई जेठ ८ गते गौरीफन्टा नाका हुदै भारतबाट फर्किने क्रममा कोरोना आशंकामा सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा राखिएको थियो।

निको नहुँदै सेती प्रादेशिक अस्पतालमा उपचाररत ६ जना कोरोना संक्रमित डिस्चार्ज

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad