आज (बिहीबार) राति प्रदेश १, २ र बागमतीमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले आफ्नो ट्विटर ह्यान्डल नेपाल वेदर फरकास्टमार्फत बिहीबार साँझ दिएको जानकारीअनुसार अरबर सागरमा विकसित निसर्ग चक्रवात कमजोर बनेर बनेको न्यून चापीय क्षेत्रको प्रभावले अहिले राति प्रदेश नम्बर १, २ र बाग्मती प्रदेशमा मध्यम वर्षा हुने सम्भावना रहेको जानकारी दिएको हो।
साथै यी प्रदेशका एक-दुई स्थानमा भारी वर्षासमेत हुन सक्ने महाशाखाले जनाएको छ।
— Nepal Weather Forecast (@DHM_Weather) June 4, 2020न्युन चापिय क्षेत्र[Depression] ('निसर्ग' कमजोर भएर बनेको) उत्तरपूर्व तिर बढ्दैछ र यसको कारणले देशका सातै प्रदेशमा पूर्ण बदली रहेको छ | बागमती, प्रदेश २ र प्रदेश १ मा मध्यम वर्षा हुने सम्भावना छ। यि प्रदेशका एक-दुई स्थानहरूमा भारी बर्षा समेत हुन सक्छ@NDRRMA_Nepal pic.twitter.com/X0r3VZ4H6g
महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार उल्लिखित तीन प्रदेशका विभिन्न स्थानमा अहिले पनि वर्षा भइरहेको छ। बागमती प्रदेशअन्तर्गत आज राति काठमाडौं उपत्यकामा पनि मध्यमसम्म वर्षा हुने सम्भावना रहेको मौसमविद् मानन्धरले जानकारी दिइन्।
‘यो निसर्गको प्रभाव हो, तर निसर्ग अहिले चक्रवातबाट कमजोर भएर न्यून चापीय क्षेत्र बनिसकेको छ,’ मौसमविद् मानन्धरले बिहीबार राति नेपालखबरसँग भनिन्, ‘यसैको प्रभावले आज राति मध्यम अर्थात् यसअघिको भन्दा अलि ठूलै पानी पर्ने सम्भावना रहेको हो।’
यसैगरी सुदूरपश्चिम, कर्णाली र प्रदेश ५ मा पनि अहिले राति हल्का वर्षाको सम्भावना छ। उतको बदली र वर्षाचाहिँ पश्चिमी र स्थानीय वायुको प्रभावले हुने उनले बताइन्।
Shares

प्रतिक्रिया