ad ad

समाज


अस्पतालका आइसोलेसन र स्थानीय तहका क्वारेन्टिन भरिए, अब कहाँ राख्ने?

अस्पतालका आइसोलेसन र स्थानीय तहका क्वारेन्टिन भरिए, अब कहाँ राख्ने?

गोकुल जोशी
जेठ २२, २०७७ बिहिबार ९:५,

भारतबाट फर्किएका मानिसले सुदूरपश्चिमका स्थानीय तहमा रहेका क्वारेन्टिन भरिभराउ भएका छन्। अझै पनि भारतबाट आउने क्रम नरोकिए पछि उनीहरुलाई क्वारेन्टिनमा व्यवस्थापन गर्न समस्या भएको छ।

हाल सुदूरपश्चिमका नौ वटै जिल्लामा गरी भारतबाट फर्किएका झण्डै ३५ हजार मानिस क्वारेन्टिनमा बसेका छन्। कञ्चनपुर र कैलालीका ५०१ क्वारेन्टिनमा मात्रै अहिले २४ हजार बढी मानिस छन्।

नौ स्थानीय तह रहेको कञ्चनपुर जिल्लामा १७६ क्वारेन्टिन भरिभराउ छन्। ९ हजार ७ सय १२ बेड क्षमताको क्वारेन्टिनमा ८ हजार ८ सय ५० जना बसेको जिल्ला प्रशाासन कार्यालय कञ्चनपुरले जनाएको छ।

यस्तै, ३२५ क्वारेन्टिनमा १७ हजार ३ सय ८९ बेड क्षमता रहेका कैलालीमा १५ हजार ७ सय ५९ जना छन्। सुदूरपश्चिमका पहाडी जिल्लाको क्वारेन्टिनको अवस्था पनि यस्तै छ। भारतबाट आउने क्रम अझै रोकिएको छैन।

क्वारेन्टिन भरिए पछि उनीहरुलाई कसैको सम्पर्कमा जान नदिन स्थानीय प्रशासनले ‘होम क्वारेन्टिन’ को अवधारणालाई समेत अगाडि सारेका छन्। स्थानीय तहमा रहेका क्वारेन्टिन भरिन थाले पछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले अब ‘होम क्वारेन्टिन’मा पनि बस्न सक्ने व्यवस्था गरेको छ।

भारतबाट आएका मानिसहरुले यहाँका स्थानीय तहमा रहेका क्वारेन्टिन भरिएर व्यवस्थापनमा कठिनाइ आए पछि होम क्वारेन्टिनमा बस्न सक्ने व्यवस्था गरेको हो। त्यसका लागि ‘जिल्ला स्तरीय होम क्वारेन्टिन कार्यविधि–२०७७’ जारी गरेको छ। सोही अनुरुप भारत लगायत तेस्रो मुलुकबाट आउने मानिसले वडाध्यक्ष, सुरक्षा निकाय र स्वास्थ्यकर्मीको समन्वयमा होम क्वारेन्टिनमा बस्न सक्ने व्यवस्था गरिएको हो।

उता कैलालीमा होम क्वारेन्टिनको व्यवस्था गरिएको छ।

‘भारतबाट आउने क्रम पनि जारी नै छ, क्वारेन्टिन अवधि पुरा गरेर केही घर पनि गएका छन्। क्वारेन्टिन व्यवस्थापनका लागि छलफल गर्न आज छलफल हुँदै छ’ जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले भने।

अस्पतालको आइसोलेसन पनि भरियो
सुदूरपश्चिमका चार कोरोना विशेष अस्पताल संक्रमितले भरिभराउ भएका छन्। महाकाली अस्पताल, सेती प्रादेशिक अस्पताल, टिकापुर अस्पताल र जिल्ला अस्पताल अछामको आइसोलेसन वार्ड बिरामीले भरिएका छन्। २४ बेड क्षमताको सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा २६ जना, २० बेड क्षमताको महाकाली अस्पतालमा १५ जना, १२ बेड क्षमताको टीकापुर अस्पतालमा १० जना र १७ बेडको जिल्ला अस्पताल अछाममा १० जना संक्रमितको उपचार हुँदै छ।

देशका ठूला अस्पतालको आइसोलसन वार्ड भरिभराउ भएपछि थप संक्रमित भेटिए उनीहरुलाई व्यवस्थापनमा चुनौती देखिएको छ। प्रदेशमा कोरोना संक्रमितको सम्पर्कमा आएका र अन्य कोरोना लक्षण देखिएका हजार बढीको परीक्षण बाँकी रहेको छ।

अबका संक्रमित कहाँ राख्ने?
आइसोलेसन अभावलाई मध्यनजर गर्दै सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तगतको स्वास्थ्य निर्देशनालय डोटीले सबै पालिकाहरुलाई पत्राचार गर्दै कम्तीमा ५० शैयाको आइसोलेसन तयारी अवस्थामा राख्न आग्रह गरेको छ।

आरडीटी र पीसीआर पोजेटिभ भएकालाई व्यवस्थापन गर्न कम्तीमा पनि ५० शय्याको आइसोलेसन तयारी अवस्थामा राख्न भनिएको स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थीले बताए। अहिले सुदूरपश्चिममा देखिएका कोरोना संक्रमित लक्षणविहीन अवस्थाका भएकाले उनीहरुको स्थानीय स्तरमै उपचार तथा व्यवस्थापन गर्न सकिने उनको भनाइ छ ।

पूर्व–तयारी नहुँदा समस्या
सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि पूर्व–तयारी नहुँदा संक्रमितले उपचार नै नपाउने अवस्था सृजना हुन सक्ने खतरा देखिएको छ। कञ्चनपुर–कैलालीमा ५०/५० शैयाको कोरोना अस्पताल सञ्चालनमा नआउँदा बिरामी व्यवस्थापनमा समस्या देखिएको छ। कोरोना बिशेष महाकाली र सेती अस्पतालका आइसोलेसन बिरामीले भरिएका छन्।

महाकाली अस्पतालमा अहिलेसम्म भेन्टिलेटर तथा आईसीयू कक्ष सञ्चालनमा आएको छैन। नयाँ भेन्टिलेटर र आईसीयू कक्ष सञ्चालनमा आउन अझै एक महिना लाग्ने देखिएको छ। भेन्टिलेटरका लागि तीन वटा फर्मले टेन्डर हालेकोमा अहिलेसम्म कसैको पनि टेन्डर स्वीकृत नभएको महाकाली अस्पतालले जनाएको छ।

सुदूरपश्चिम प्रदेशका ९ जिल्लाका एक सय ८० शय्याका १६ वटा आइसोलेसन वार्ड मात्रै तयार गरिएको छ। लकडाउन पछि पनि भारतबाट हजारौँ मानिसलाई ल्याएर सम्बन्धित ठाउँको क्वारेन्टिनमा राखिएको छ। उनीहरुको कोरोना परीक्षण गर्न बाँकी नै छ। यस्तो अवस्थामा प्रदेशमा कोरोना संक्रमित बढ्न सक्ने निश्चित छ।

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि उचित व्यवस्थापन र पूर्व–तयारी नहुँदा संक्रमितले उपचारबाट बञ्चित भइ ज्यान गुमाउनु पर्ने अवस्था आउने संकेत देखिन थालेको विज्ञहरु बताउँछन्। सुदूरपश्चिम प्रदेशमा हाल १४ शय्याको आइसीयू वार्ड र ८ वटा भेन्टिलेटर मात्रै छन् । 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .