समाज


बेलायतस्थित नेपाली दूताबासले भन्यो -नेपाल फर्कन चाहनेले विवरण बुझाउन थाल्नुस्

बेलायतस्थित नेपाली दूताबासले भन्यो -नेपाल फर्कन चाहनेले विवरण बुझाउन थाल्नुस्

कृष्णप्रसाद शर्मा
जेठ २०, २०७७ मंगलबार ३:४०,

नेपाल फर्किनुपर्ने बाध्यतामा रहेका नेपाली नागरिकलाई आफ्नो विवरण अद्यावधिक गर्न लण्डनस्थित नेपाली राजदूतावासले आह्वान गरेको छ।

नेपाल सरकार (मन्त्रिपरिषद्) को यही जेठ १२ गतेको निर्णयबमोजिम नेपाल फर्किनुपर्ने बाध्यतामा रहेका नेपालीका लागि यस्तो व्यवस्था गरिएको राजदूतावासद्वारा सोमबार जारी सूचनामा जनाइएको छ।

कोभिड-१९ महामारीको परिणामस्वरुप बन्दाबन्दीको कारणले नेपाल फर्कन नपाएका र छिट्टै नेपाल फर्कनुपर्ने बाध्यतामा रहेका बेलायत, आयरल्याण्ड र माल्टामा रहेका नेपाली नागरिकलाई प्राथमिकताका आधारमा नेपाल फर्कने व्यवस्था गर्न लागिएको राजदूतावासले जानकारी गराएको छ।

नेपाल फर्कन चाहनेले आफ्नो नाम, राहदानी नम्बर, स्थायी ठेगाना, नेपाल फर्केपछि बस्ने ठेगाना, नेपालको सम्पर्क नम्बर, नेपाल फर्कनुपर्ने कारण, हाल आफू रहेको ठेगाना, सम्पर्क नम्बर र इमेलका साथै आफ्नै खर्चमा तोकिएको होटल क्वारेन्टिन वा स्थानीय तहले व्यवस्थापन गरेको क्वारेन्टिन कुनमा बस्ने हो सोसमेत खुलाई राजदूतावासको फेसबुक पेज, ट्वीटर वा इमेलमार्फत पाँच दिनभित्र आफ्नो विवरण उपलब्ध गराउन अनुरोध गरिएको छ।

यहाँको गैरआवासीय नेपाली सङ्घ बेलायतले सङ्कलन गरेको नेपाल फर्कन चाहने नेपालीको विवरण पनि राजदूतावासलाई प्राप्त भइसकेको छ। सूचना जारी भएपछि पनि नेपाल जान इच्छुकले राजदूतावास वा गैरआवासीय नेपाली संघमा विवरण पठाउन सकिने उल्लेख गरिएको छ।

हवाई उडानबाट स्वदेश फर्कने व्यक्तिले हवाई उडान गर्नु अगाडि कोभिड सङ्क्रमण नभएको स्वास्थ्य परीक्षण (पिसीआर÷आरडिटी÷अन्य) को प्रमाण साथमा राख्नुपर्ने भएकाले सोको व्यवस्था पनि स्वयंले गर्नुपर्ने र नेपाल फर्कने व्यक्तिले हवाई उडान तथा यातायात खर्च र होटल तथा क्वारेन्टिन खर्च आफैँले व्यहोर्नु पर्ने सूचनामार्फत जानकारी गराइएको छ।

बेलायतबाट गएपछि नेपालको विमानस्थलमा पुगेपश्चात प्रत्येक यात्रुलाई काठमाडौँ चक्रपथ आसपासमा रहेका ‘होल्डिङ सेन्टर’मा लगी आवश्यक प्रक्रिया पूरा भएपछि मात्र सम्बन्धित जिल्लामा रहेका क्वारेन्टिनमा ‘ट्रान्सफर’ गरिनेछ।

नेपाल प्रवेश गर्ने प्रत्येक व्यक्तिले अनिवार्यरूपमा स्थानीय क्वारेन्टिन वा होटल क्वारेन्टिनमा १४ दिनसम्म बस्नुपर्ने र तत्पश्चात् स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तोकेबमोजिम स्वास्थ्य परीक्षण भएपछि थप सात दिन अनिवार्य होम क्वारेन्टिनमा समेत बस्नु पर्नेछ।

नेपाल जाने प्रत्येक व्यक्तिले तोकिएको सुरक्षासम्बन्धी मापदण्ड पालना गर्नु पर्नेछ । एयरलाइन्स र उडान तालिकालगायत अन्य विवरणका सम्बन्धमा पछि जानकारी गराइने व्यहोरा उक्त सूचनामा उल्लेख गरिएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad