सरकारले महत्वपूर्ण स्थानको सुरक्षाका लागि नेपाली सेना खटाउने बाटो खुल्ला गरेको छ।
शनिबार बसेको सुरक्षा समितिको बैठकले महत्वपूर्ण आयोजना, कार्यालय र प्रतिष्ठानको सुरक्षामा नेपाली सेना खटाउने निर्णय गरेको हो।
गृह मन्त्रालयले यसअघि नै यी स्थानको सुरक्षामा सेना खटाएर प्रहरीलाई सीमा क्षेत्रमा पठाउनु पर्ने प्रस्ताव गरे पनि सेनालाई ब्यारेकबाट निकाल्न सुरक्षा समितिको निर्णय आवश्यक थियो।
निर्णयसँगै अब महत्वपुर्ण सरकारी संरचना र प्रतिष्ठानको सुरक्षा जिम्मा सेनालाई दिइने भएको छ। त्यहाँ खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई सीमा क्षेत्रमा पठाइने भएको छ।
गृह मन्त्रालयले यसअघि नै त्यहाँ रहेका आफ्ना जनशक्ति सिमानामा खटाउने तयारी थाल्न गृह मन्त्रालयले दुवै प्रहरीलाई निर्देशन दिइसकेको थियो।
अब महत्वपुर्ण सरकारी कार्यालयसँगै, कारागार, दूतावास, महत्वपुर्ण व्यक्तिका निवासको सुरक्षामा नेपाली सेना पठाइने रक्षा श्रोतले जानकारी दियो।
कति सेना आवश्यक र कहाँ कसरी खटाउने भन्ने प्रस्ताव यसअघि नै गृह मन्त्रालयले पठाएको थियो। दुवै प्रहरीसँग सम्पूर्ण संरचनामा खटिएका जनशक्तिको विवरण लिएर गृहले सुरक्षा परिषद्मा जानकारी गराएको थियो।
यसअघि निर्वाचनमा पनि यस्ता संरचनाको जिम्मा नेपाली सेनालाई दिएर प्रहरी बुथमा परिचालन गर्ने गरिएको थियो। सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले सुरक्षा समितिले गरेको निर्णयको आधिकारीक पत्र आइनसकेको बताए।
कोरोनाको महामारीका कारण भारतीय सीमानाबाट जथाभावी प्रवेश गर्नेलाई रोक्न मुख्य चुनौती बन्दै आएको छ। सीमानाबाट भागेर नेपाल प्रवेश गरिरहेका छन् भने ठाउँठाउँमा झडपसमेत भएको छ।

प्रतिक्रिया