कोरोना भाइरस (कोभिड–१९) को उपचार हुने सुदूरपश्चिमको एक मुख्य कोरोना बिशेष अस्पताल महाकाली अस्पतालको आइसोलेसन वार्ड बिरामीले भरिएको छ।
१० बेड क्षमताको अस्पतालको आइसोलेसन वार्ड कोरोना आशंकामा भर्ना गरिएका बिरामीले भरिएको महाकाली अस्पतालले जनाएको छ।
भारतबाट हजारौंको संख्यामा नेपाल आउनेको क्रम जारी रहेकै बेला प्रदेशको मुख्य अस्पताल नै भरिएपछि अनिश्चितता थपेको छ।
हालै केहि दिन पहिले पनि हजारौंको संख्यामा युवाहरु भारतबाट आई आआफ्ना गाउँ पुगेका छन्।
आइसोलेसन भरिएपछि बिरामीलाई राख्न समस्या सिर्जना भएको हो। महेन्द्रनगरस्थित महाकाली अस्पतालको आइसोलेसनमा अहिले कोरोना आशंकामा जिल्लाको विभिन्न ठाउँबाट ल्याइएका १० जना रहेका छन्।
जिल्लाको विभिन्न ठाउँको क्वारेन्टिनमा गरिएको ¥यापिड डायग्नीस्टक टेस्ट (आरडीटी) विधिबाट परीक्षण गर्दा कोरोना पोजिटिभ आएपछि ६ जनालाई आइसोलेसनमा भर्ना गरिएको अस्पतालका कोभिड–१९ फोकल पर्सन डा.सरोज आचार्यले बताए।
‘अहिले आइसोलेसनमा शंकास्पद १० जना छन्। अस्पतालको आइसोलेसन भरिएको छ,’ उनले भने।
१० बेड क्षमताको अस्पतालको आइसोलसन वार्ड कोरोना आशंकामा ल्याइएका बिरामीले भरिएपछि व्यवस्थापनमा समस्या आएको हो।
केहि दिनपहिले भारतबाट गड्डाचौकी नाँका हुँदै नेपाल आउनेहरुको भिड।
ठेकेदारको लापरबाहीले कोरोना अस्पताल निर्माणमा ढिलाई
उता ठेकेदारको लापरबाहीले अस्पताल परिसरमा निर्माणाधीन ५० शैयाको कोरोना अस्पताल निर्माणमा ढिलाई भइरहेको छ।
सुदूरपश्चिम प्रदेश सरकारबाट प्राप्त एक करोड रुपैयाँको लागत निर्माण गर्न लागिएको कोरोना अस्पताल ७ जेठमा सक्ने सम्झौता भएपनि ठेकेदारको लापरवाहीले गर्दा निर्माण कार्य अधुरै रहेको छ।
यही अवस्थामा कोरोना आशंकामा बिरामी बढेमा बिरामी राख्न समस्या सिर्जना हुने संकेत देखिएको छ।
‘अहिलेका लागि बिरामी राख्न ‘कुरुवा घर’ लाई पनि प्रयोग गर्न सकिन्छ। आइसोलेसनमा रहेकाहरुको पीसीआर रिपोर्ट पनि आउँदैछ। रिपोर्ट हेरेर अन्य व्यवस्थापनको बिकल्पमा जानु पर्छ।’ डा. आचार्यले भने।
३ वर्षीय बालिका सहित ६ जनामा आरडीटी पोजिटिभ
कञ्चनपुरको विभिन्न ठाउँका क्वारेन्टिनमा रहेका ६ जनामा आरडीटीबाट कोरोना पोजिटिभ देखिएको छ। उनीहरु सबै भारतबाट आएका हुन्।
लालझाँडी गाउँपालिका–४ स्थित क्वारेन्टिन रहेका तीन जना, शुक्लाफाँटा नगरपालिका–७ का दुई जना र महाकाली नगरपालिका–१ की ३ वर्षीय बालिकामा आरडीटी परीक्षणबाट कोरोना पोजिटिभ देखिए पछि आइसोलेसनमा राखिएको छ।
यस्तै महाकाली नगरपालिकाकी बालिकाका आमा, बुवा सहित चार जनालाई पनि महाकाली अस्पतालको आइसोलेसनमा राखिएको छ।
उनीहरुको थ्रोट स्बाव संकलन गरेर पीसीआर परीक्षणका लागि पठाइएको अस्पतालले जनाएको छ।
कैलालीमा तीन जनामा आरडीटी पोजिटिभ, अस्पतालमा भर्ना
कोरोना भाइरसको आशंकामा कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा तीन जना भर्ना भएको सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए। भारतबाट आएका उनीहरुमा आरडीटी गर्दा कोरोना पोजिटिभ देखिएको हो।
भारतको दिल्लीबाट आएका काठमाडौँ महानगरपालिका–३२ का ५२ वर्षीय पुरुष, सोही ठाउँबाट आएर धनगढी उपमहानगरपालिका–२ सन्तोषी टोलका ५६ वर्षीय पुरुष र लम्की चुहा नगरपालिका–४ स्थित राष्ट्रिय नमूना माध्यमिक विद्यालय मोतिपुरको क्वारेन्टिनमा रहेका ३० वर्षीय पुरुषमा आरडीटी पोजिटिभ देखिएपछि अस्पताल भर्ना गरिएको छ।
उनिहरुको स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि पठाइएको छ।
सुदूरपश्चिम प्रदेशमा अहिले कोरोना संक्रमितको संख्या २१ पुगेको छ।
कैलालीका १०, बैतडीका पाँच, अछामका दुई जना तथा दार्चुला, डडेल्धुरा, कञ्चनपुर र बझाङका एकर एक गरी २१ जनामा संक्रमण पुष्टि भएको छ।
ती मध्ये पाँच जना निको भएर घर फर्किएका छन्।
Shares

प्रतिक्रिया