ad ad

समाज


रुकुम हत्याकाण्डविरुद्ध सर्लाहीका दलित पनि आन्दोलित, दाेषीलाई कडा कार्बाही गर्न माग

रुकुम हत्याकाण्डविरुद्ध सर्लाहीका दलित पनि आन्दोलित, दाेषीलाई कडा कार्बाही गर्न  माग

नेपालखबर
जेठ १६, २०७७ शुक्रबार १०:५७,

कथित उच्च जातकी केटीसँग प्रेम गरेको रिसमा रुकुम चौरजहारीमा केटी पक्षले गरेकाे जाजरकोट भेरीका नवराज विकसहित ६ युवाको हत्याविरुद्ध सर्लाहीका दलित पनि आन्दोलित भएका छन्।

madan

दोषीलाई कडा कारबाहीको माग गर्दै प्रमुख जिल्ला अधिकारीमार्फत बिहीबार गृहमन्त्रीलाई ज्ञापन पत्र पठाएका उनीहरूले आज (शुक्रबार) पूर्वपश्चिम राजमार्गअन्तर्गत लालबन्दीमा विरोध प्रदर्शन र सभा गरेका हुन्।

‘हत्यारालाई फाँसी दे’ जस्ता चर्का नाराबाजी गर्दै डुमडुम बन्दिरबाट सुरु भएको दलितको जुलुस लालबन्दी नगरपालिका कार्यालय परिक्रमा गदै राजमार्गमै कोणसभामा परिणत भएको थियो।

संघर्ष समिति गठन
नाराजुलुसपछि लालबन्दीमै बसेको दलित समुदायको सर्वदलीय, सर्वपक्षीय भेलाले दलित न्यायिक संघर्ष समिति पनि गठन गरेको छ।

दलित नेता राजाराम पासवानको अध्यक्षतामा १९ सदस्यीय समिति गठन गरिएको यसका सचिव बनेका मदन विश्वकर्माले जानकारी दिए।

‘रुकुम चौरजहारी हत्याकाण्डविरुद्ध चरणबद्ध आन्दोलनका साथै देशमा हुने अन्य जातीय विभेद र छुवाछूतका अत्याचारविरुद्ध न्यायका लागि निरन्तर संघर्ष गर्ने उद्देश्यसाथ समिति गठन गरेका हौं,’ सचिव विश्वकर्माले टेलिफोनमा नेपालखबरसँग भने, ‘अब रुकुम हत्याकाण्डविरुद्ध आइतबार प्रदेश २ का प्रमुख तथा मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम तय गरेका छौं।’

रुकुम हत्याकाण्डका दोषीलाई कडाभन्दा कडा कारबाही गरिनुपर्ने, मृतक नवराज विकलाई सहिद घोषणा गर्नुपर्ने, घाइतेको उपचार गर्नुपर्ने, पीडित परिवारलाई क्षतिपूर्ति दिनुपर्ने आफूहरूको मुख्य माग रहेको विश्वकर्माले बताए। साथै आगामी दिनमा जातका आधारमा दलित दमनका घटना हुन नदिने ग्यारेन्टी सरकारले गर्नुपर्ने माग पनि आफूहरूको रहेको उनले बताए।

‘ज्ञापनपत्रबमोजिम सरकारले हाम्रो माग सुनुवाइ गरेन भने थप रणनीति बनाएर थप संघर्षका कार्यक्रम गर्नेछौं,’ उनले भने।

आफ्नी प्रेमिकाले विवाहका लागि बोलाएपछि यही जेठ १० गते आफ्ना साथीहरूसहित रुकुम चौरजहारी नगरपालिका-८, सोती पुगेका जाजरकोट भेरी नगरपालिका, रानागाउँका २१ वर्षीय नवराज विकसहित उनीसँग गएका अन्य ५ युवाको पनि हत्या भएको थियो। नजिकै रहेको भेरी नदीमा उनीहरूको शव पालैपालो भेटिएको थियो।

प्रहरीले केटीका बुबा, आमा, वडाध्यक्षलगायतलाई नियन्त्रणमा लिएर घटना अनुसन्धान गरिरहेको जनाएको छ।

यस घटनाविरुद्ध अहिले देशका विभिन्न ठाउँमा दलितले आन्दोलन गरिरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .