ad ad

समाज


सगरमाथा विजयको ६७ वर्षः तेन्जिङ र हिलारीका भरिया कान्छा शेर्पाको अनुभव

सगरमाथा विजयको ६७ वर्षः तेन्जिङ र हिलारीका भरिया कान्छा शेर्पाको अनुभव

भोजराज कार्की
जेठ १६, २०७७ शुक्रबार ९:१९,

आज मे २९ अर्थात् अन्तर्राष्ट्रिय सगरमाथा दिवस। ६७ वर्ष पहिले आजकै दिन सगरमाथाको शिखरमा मानव पाइला पुगेको सम्झनामा यो दिनलाई सगरमाथा दिवसको रुपमा मनाइन्छ। नेपाल सरकारले सन् २००८ देखि मे २९ लाई अन्तर्राष्ट्रिय रुपमै यो दिवस मनाउन निर्णय गरेको थियो।

सन् १९५३ मा नेपालका तेञ्जिङ नोर्गे शेर्पा र न्युजिल्याण्डका सर एडमण्ड हिलारीले पहिलोपटक सगरमाथा आरोहण गरेका थिए। त्यसपछि शुरु भएको आरोहणमा पछिल्ला दुई दशकमा निकै आकर्षण बढेको छ। पर्वतीय पर्यटनको क्षेत्रमा काम गर्नेहरुले यो दिनलाई विशेष रुपमा मनाउने गरिन्छ। सगरमाथाले नेपाललाई विश्वमाझ चिनाइरहेको छ भने मे २९ मानिस र सगरमाथाबीचको सामिप्यता बढाउने दिन हो।

यो वर्षको वसन्त ऋतुमा सगरमाथा सहित नेपालका सबै हिमालहरु सुनसान बनेका छन्। विगत वर्षमा यो समय आरोहीको भीडभाड तथा चहलपल बाक्लो हुने सगरमाथा क्षेत्रसहितका हिमाल एवं हिमशृङ्खला यो वर्ष भने विश्वभर फैलिएको कोरोना महामारीका कारण सुनसान बनेको छ। कोरोना भाइरस संक्रमणको डरले यात्रा रोकिँदा आरोहीहरु आउन सकेका छैनन्। सरकारले सबै हिमाल आरोहण कार्य यो मौसमका लागि बन्द गरेको छ। सगरमाथा आरोहणका क्रममा अहिलेसम्म विभिन्न कीर्तिमानी कायम भएको छ। आरोहण यात्रा शुरु भएयता अहिलेसम्म करिब १२ हजारभन्दा बढी स्वदेशी तथा विदेशीले सगरमाथा आरोहण गरिसकेका छन्।

तीन महिना सगरमाथाको आधारशिविर भरिभराउ हुने, त्यस क्षेत्र वरपर सरसफाइ गर्ने लगायतको काम हुने भए पनि अहिले सबै कार्य ठप्प भएको पर्यटन व्यवसायी किताबसिं तामाङको भनाइ छ। विसं २०७२ को महाविनाशकारी भूकम्पले थलिएको आरोहण क्षेत्र क्रमैसँग माथि उठ्दै गएको भए पनि यो वर्ष सुनसान हुने यहाँका पर्यटन व्यवसायीसहित सिंगो राज्यलाई नै ठूलो नोक्सानी भएको छ। जसले गर्दा यस क्षेत्रका होटल व्यवसायसमेत धरासायी बनेको नाम्चेका होटल व्यवसायी लामाकाजी शेर्पाको भनाइ छ।

सगरमाथा आरोहणका इतिहासः कान्छा शेर्पा
पहिलोपटक शिखरमा जाने समूहमध्ये खुम्बु पासाङल्हामु गाउँपालिका–३ नाम्चेका कान्छा शेर्पा पनि एक हुन्। त्यसबेला ‘हाइ अल्टिच्युड शेर्पा’ का रूपमा गएका ८८ वर्षीय शेर्पा २० वर्षको उमेरमा तेञ्जिङनोर्गे शेर्पा र सरएडमण्ड हिलारीको लागि बाटो बनाउँदै शिखर नजिक सात हजार ८०० मिटरसम्म पुगेका थिए। उनीसहित दुई जना हाइअल्टिच्युड शेर्पा थिए भने अन्य लो अल्टिच्युड शेर्पाका रूपमा गएको कान्छा शेर्पाको भनाइ छ।

कान्छा शेर्पाका अनुसार भक्तपुरबाट ४०० भरियासहित आरोहण दलका ३५ सदस्य टोली नाम्चे हिँडेको थियो। चार सयमध्ये १०० को टोली एक–एक दिनको फरकमा हिँडेको थियो।
उनले भने, ‘काठमाडौँमा गाडी थिएन, भक्तपुरमा गाईवस्तु चथ्र्यो, अहिले भक्तपुरमा त टेन थाउजेण्ट घरहरु होला है! सपनाकै कुरा हो। बाटोमा कुनै होटल पसल थिएन’, शेर्पाले भने, ‘मकैको छ्याङ अनि सातु खाँदै हिँड्नपथ्र्यो, अहिले त जताततै होटल पसल, सुविधा राम्रो छ, त्यो बेला केही थिएन निकै गाह्रो थियो।’

भक्तपुरबाट हिँडेको टोली १६ दिनमा नाम्चे पुगेको थियो। सगरमाथा प्रवेशद्वार नाम्चे पुगेपछि ४०० भरियालाई दैनिक रु पाँच ज्याला दिएर फर्काएपछि शिखरतर्फ अगाडि बढेको टोली छ दिनमा आधार शिविर पुगेको शेर्पाको भनाइ छ। उनका अनुसार ४०० भरियाले बोकेकामध्ये २५ भारी त पैसामात्रै थियो। ‘नाम्चेबाट ३५ जना टोली आधारशिविर लाग्यौँ, पाँच दिनमा त्यहाँ पुगेपछि बस्ने व्यवस्था मिलायौँ,’ उनले ६७ वर्ष अगाडिको अनुभव सुनाउँदै भने, ‘क्याम्प १ सम्म पुग्नकै लागि निकै कठिन भयो, बाटो खोज्दै जाँदा खुम्बु आइसफलमा ठूलो खर्पस भेटियो, हामीसँग भ¥याङ थिएन, अनि नाम्चे फर्केर १० सल्लाको रुख काट्यौँ, २० जनाले बोकेर उकालो लाग्यौँ, अनि काठको पुल बनाएर बाटो बनायौँ।’

त्यतिबेला सगरमाथा नामकरण गरिएको थिएन, स्थानीय भाषामा चोमोलोङमा भन्ने गरेको उनको भनाइ छ। क्याप दुई, तीन हुँदै चारसम्म बाटो बनाएपछि, तेञ्जिङ र हिलारी शिखरतर्फ गएर चढेको उनले सुनाए। ‘मे २९ को दिन दिउँसो १ बजे ओकेटोके बोकेको थियो, त्यसबाट भने हामी सक्सेस भयौं, तिमीहरु क्याम्प–२ मा बस्नु भने हामी सबै खुशी भयौँ’ शेर्पाले भने, ‘दुई घण्टापछि क्याम–२ मा उनीहरु आए खुशीले अँगालो हाल्यौँ, किस खायौँ, सबै नाच्यौँ।’ त्यसबेला कान्छा शेर्पाको दैनिक ज्याला रु आठ थियो। तर के कति पैसा बुझेको उनलाई थाहा छैन।

सोलुखुम्बुको थामेमा जन्मेका तेञ्जिङ नोर्गे शेर्पाले दार्जिलिङमा पुगेर ट्रेकिङ कम्पनी खोलेपछि सोही माध्यमबाट सर एडमण्ड हिलारीसँग भेट भएको बताइन्छ। एडमण्ड हिलारीले सगरमाथा चढ्ने प्रक्रिया अगाडि बढाएपछि तेञ्जिङलाई समेत जन्मभूमि फर्कने अवसर मिलेको उनीहरुलाई बाटो देखाउने कान्छा शेर्पाले सुनाए।

पर्यटन व्यवसायीको सुझाव
सगरमाथा क्षेत्रमा फोहरको मात्रा बढेको र हिउँ घटेको प्रति सबैको चिन्ता बढिरहेको बेला यस वर्ष आरोहण ठप्प भयो। केही वर्षयता सरकारले समेत हिमाल सफाइ अभियान नै सञ्चालन गरेको भए पनि आरोहीको चापले सोचेजति सफाइ हुन नसकेको आरोही किताबसिं तामाङको भनाइ छ।

यस वर्ष कोरोना कहरकै बीचमा सरसफाइ अभियान सञ्चालन गर्ने पर्यटन मन्त्रालयको धारणा सुनेका व्यवसायी तथा सम्वद्ध निकाय हर्षित भए पनि कार्यान्वयन नहुँदा निरास बन्नुपरेको टे«किङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) का उपाअध्यक्ष चोलेन्द्र कार्कीको भनाइ छ। यो समयमा आरोही नभएको बेला पर्यटन मजदुर तथा आरोहीलाई नै सामाजिक दूरी कायम गरी सगरमाथा सफाइमा संलग्न गराएको भए प्रभावकारी हुने उनले बताए।

हिमाली क्षेत्रमा जानका लागि यो उपयुक्त समय भएकाले त्यसमा ध्यान पुग्न नसकेको उनको भनाइ छ। अबको दुई वर्षसम्म पर्यटन क्षेत्रसँगै सगरमाथा आरोहण सन्तोषजनक नहु्ने भएकाले सोहीअनुसार कार्यक्रम तय गर्नुपर्ने उनले सुझाएका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .