समाज


दोस्रो नरैनापुर बन्ने बाटोमा झापाको कचनकवल

दोस्रो नरैनापुर बन्ने बाटोमा झापाको कचनकवल

यज्ञराज जोशी
जेठ १६, २०७७ शुक्रबार ६:३१,

भौगोलिक हिसाबमा नेपालको सबैभन्दा होचो स्थानमा अवस्थित झापाको कचनकवल गाउँपालिकामा कोरोना संक्रमितको ग्राफ भने दिनप्रतिदिन उकालो लाग्दैछ।

नेपालमा सबैभन्दा बढी कोरोना संक्रमित भेटिएको पश्चिमको बाँकेको नरैनापुर गाउँपालिकामा अहिलेसम्म ११४ संक्रमित पहिचान भइसकेका छन्। उता, कचनकवलमा पनि ७३ संक्रमित भेटिएपछि पूर्वीजिल्ला झापाको गाउँपालिकाले पनि नरैनापुरलाई नै पछ्याइरहेको देखिन्छ।

स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार देशभरि १५६ जना नयाँ संक्रमित भेटिदा कचनकवलमा मात्रै २५ जना संक्रमित थपिएका थिए। नरैनापुरजस्तै कचनकवलमा पनि भारतबाट आएर क्वारेन्टिनमा बसेकाहरुलाई संक्रमण देखिएको हो।

अझै सय बढिको परीक्षण गर्न बाँकी रहेको र भारतबाट आउने क्रम नरोकिएकाले संक्रमित थपिने सम्भावना रहेको गाउँपालिका अध्यक्ष अन्जरा आलम बताउँछन।

‘६ वटा क्वारेन्टिनमा ४ सयको हाराहारीमा मान्छेहरु छन्,’ आलमले नेपालखबरसँग भने, ‘सय जनाको अझै परीक्षण गर्न बाँकी रहँदा ७३ जनामा संक्रमण भेटिसक्यो। दैनिक भारतबाट आउने संख्या पनि रोकिएको छैन।’

कचनकवलको एक क्वारेन्टिनमा शारिरिक अभ्यास गराइदै

झापाको कचनकवल गाउँपालिकास्थित क्वारेन्टिनमा रहेकाहरुलाई शारिरिक अभ्यास गराइदैँ। भिडियो सौजन्य: रत्नकुमार बुढाथोकी

Posted by Nepalkhabar on Friday, May 29, 2020

पालिकाको पथरिया मावि, लक्ष्मीप्रसाद देवकोटा मावि, जानकी आधारभूत विद्यालय, महेन्द्र रत्न मावि, बुद्ध आधारभूत विद्यालय र केचना माविमा क्वारेन्टिन निर्माण गरिएको छ। बिहीबारसम्म गाउँपालिकामा २७६ जनाको स्वाव संकलन गरी परीक्षण गर्दा ७३ को रिर्पोटमा संक्रमण पुष्टि भएको हो। त्यसमध्ये ३५ जनाको रिर्पोट आउन अझै बाँकी छ।

धान्न नसक्ने स्थितिमा गाउँपालिका
गाउँपालिकाले सुरुमा सय–डेढ सय मान्छेहरु फर्कन सक्ने अनुमान गरेको थियो। त्यही अनुसारको तयारी थियो। तर दिनमै ३०–४० जनाको संख्यामा मान्छेहरु आउन थालेपछि व्यवस्थापनमा धौधौ परेको गाउँपालिका अध्यक्ष आलमले बताए।

गाउँपालिकाका ४ हजारभन्दा बढी मानिस भारतको विभिन्न स्थानमा रोजगारीको क्रममा रहेका छन। उनीहरु गाउँ फर्कने क्रम जारी छ। दैनिकरुपमा मानिसहरु थपिन थालेपछि उनीहरुको व्यवस्थापन गाउँपालिका एक्लैले गर्न नसक्ने स्थिति आएको अध्यक्ष आलमले बताए।

No description available.

‘बिहीबारमात्रै गाउँपालिकामा थप १२ जना आइपुगेका छन,’ आलमले भने, ‘उनीहरुको खाना, बस्न, क्वारेन्टिनको व्यवस्थापनका लागि गाउँपालिकाले अन्य योजनाहरुबाट रकमान्तर गर्दै स्रोत जुटाएको छ। थप मानिस आउन थालेसँगै हामी धान्न नसक्ने स्थितिमा छौं।’

गाउँपालिकाले प्रदेश सरकारलाई सोही कुरा उल्लेख गर्दै सहयोगको पत्र समेत काटिसकेको छ। तर, प्रदेशबाट राहत बाँड्न भनि ५ लाख सहयोग भएको र एकपटक सामाजिक विकास राज्यमन्त्री निगरानीमा आउनुबाहेक अन्य सहयोग नभएको आलमले बताए।

केन्द्र सरकारबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका कोही पनि पदाधिकारी भने हालसम्म गाउँपालिकामा पुगेका छैनन।

संघीय र प्रदेश सरकारले पठाएको स्वास्थ्य सामग्री पनि गाउँपालिकामा अभाव देखिएको छ। सोही अभाव पुर्ति गर्न गाउँपालिकाले नै ५ सय थान भिटिएम खरिद गरेको उनले बताए। सोही भिटिएममार्फत हाल त्यहाँ संकलित स्वावहरु विराटनगर तथा धरानका प्रयोगशालामा पठाउने कार्य भइरहेको छ। थप ५ सय थान भिटिएम अर्डर गरिएको उनले बताए।

स्वास्थ्यकर्मीलाई ओभरलोड

No description available.
गाउँपालिकाका स्वास्थ्यकर्मीले स्वास्थ्यबाहेक अन्य काममा खटिनु परेको गुनासो गरेका छन। पालिकाका स्वास्थ्य संयोजक जागेश्वरप्रसाद यादवले अन्य ठाउँमा पनि खटिनुपर्दा आफ्नो काममा केन्द्रित हुन नपाएको बताए।

‘स्वास्थ्यकै मान्छे बजार जानुपर्ने, माइन्युट लेखिदिनुपर्ने, खानापिनको व्यवस्थापन गरिदिनुपर्ने, सिफारिस पनि लेखिदिनुपर्ने लगायत सबै काम गर्नुपर्छ,’ उनले भने, ‘एकजनाले सबैतिर खटिएर सम्भव हुँदैन। व्यवस्थापनको जिम्मा अरु कसैले नलिदा समस्या देखिएको छ। दिक्क भइसक्यो। म त यहाँको व्यवस्थानमा खटिन सक्दिन भनेर सरुवा पनि माग्न खोज्दैछु।’

उनले स्वास्थ्यकर्मीलाई स्वास्थ्यसम्बन्धी काममा मात्रै लगाई अन्य काम अरुले जिम्मा लिनुपर्नेमा त्यसो नभएको गुनासो पोखे। उनले हालसम्म स्वास्थ्यकर्मीलाई जोखिम भत्ता दिने निर्णय समेत नभएको बताए।

‘एक जनामात्रै संक्रमित देखिएको स्थानमा यसअघि नै भत्ता खाइसके। तर उच्च जोखिममा भएका ठाउँमा जोखिम भत्ताको निर्णय नै गरिएको छैन,’ यादवले भने, ‘हामी ज्यानको बाजी लगाएर होस्टेमा हैसे गरिरहेका छौं। स्कुलको बेन्चमा गोठालो पाराले सुतेर निगरानी गर्दै आएका छौं। तर जोखिम भत्ताको निर्णय नहुँदा स्वास्थ्यकर्मीको मनोबल गिरेको छ।’

शुक्रबार क्वारेन्टिनमा परीक्षण गर्न बाँकी रहेकाहरुको स्वाव संकलन सकेपछि गाउँपालिकालाई त्यसबारे लिखितरुपमै निवेदन दिने तयारी स्वास्थ्यकर्मीको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad