हाल देशभर मनसुनी वायुको प्रभाव छ भने मनसुनको न्यूनचापीय रेखा पश्चिमतर्फ सरदरभन्दा उत्तर र पूर्वतिर सरदर स्थान आसपास छ।
मौसम पूर्वानुमान महाशाखाले आज शनिबार बिहान ८ बजे जारी गरेको बुलेटिनअनुसार यतिबेला गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश तथा कोसी र बागमती प्रदेशका हिमाली र पहाडी भेगमा साधारणतया बादल र बाँकी तराई क्षेत्रमा आंशिक बादल लागेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
आज दिउँसो र राति यस्तो छ वर्षाको सम्भावना
दिउँसो : देशका हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थान तथा मधेस प्रदेश र कोसी प्रदेशको तराई भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। बागमती,गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
राति : कोसी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागका केही स्थान, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा/हिमपातको सम्भावना छ। बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थान, कोसी प्रदेशको तराई र मधेस प्रदेशका थोरै स्थान तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। बागमती र गण्डकी प्रदेश तथा कोसी प्रदेशको पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

काठमाडौँ उपत्यकामा पनि वर्षाको सम्भावना
आज काठमाडौँ उपत्यकामा पनि मध्यमसम्म वर्षाको सम्भावना देखिएको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् बिनु महर्जनले अपराह्न र साँझतिर काठमाडौँ उपत्यकामा पानी पर्ने सम्भावना देखिएको जानकारी दिइन्।
‘काठमाडौँ उपत्यकामा दिउँसोपछि बादल बढ्दै जाने र अपराह्न-साँझतिर हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ’, उनले नेपालखबरसँग भनिन्।
त्यसअगाडि भने काठमाडौँ उपत्यकाको मौसम घाम–बादल, घाम–बादल हुने उनले बताइन्।

हल्का, मध्यम, भारी र धेरै भारी वर्षा भनेको के हो?
मौसमविद्का अनुसार २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम पानी पर्यो भने हल्का वर्षा, १० मिलिमिटरभन्दा धेरै तर ५० मिलिमिटरभन्दा कम पानी पर्यो भने मध्यम वर्षा तथा ५० मिलिमिटरभन्दा धेरै तर १०० मिलिमिटरभन्दा कम वर्षा भयो भने भारी वर्षा भएको भनिन्छ।
यस्तै २४ घण्टामा १०० मिलिमिटरभन्दा धेरै तर २०० मिलिमिटरभन्दा कम पानी परेमा धेरै भारी तथा २०० मिलिमिटर भन्दा धेरै वर्षा भएमा अति भारी वर्षा भएको भनिन्छ।
एक-दुई स्थान, केही स्थान, धेरै स्थान र अधिकांश स्थानमा वर्षा भन्नाले के बुझिन्छ?
मौसमविद्का अनुसार एक-दुई स्थानमा वर्षा हुने सम्भावना भन्नाले १० प्रतिशतभन्दा कम भूभागमा पानी पर्छ भनिएको हो।
अनि १० देखि ३० प्रतिशत भूभागमा पानी पर्ने सम्भावना हुँदा ‘थोरै स्थान’मा वर्षा हुन्छ भनिन्छ।
यसैगरी ३० देखि ५० प्रतिशत भूभागमा पानी पर्ने सम्भावना हुँदा ‘केही स्थान’मा तथा ५० देखि ८० प्रतिशत भूभागमा वर्षा हुने सम्भावना हुँदा ‘धेरै स्थान’मा वर्षा हुने सम्भावना छ भनिन्छ।
अनि ८० प्रतिशतभन्दा बढी भूभागमा पानी पर्ने सम्भावना हुँदा मौसमविद्ले ‘अधिकांश स्थान’मा वर्षा हुने सम्भावना छ भन्छन्।
मौसमका लागि प्रयोग हुने शब्दावलीबारे विस्तृत जानकारीका लागि तलको तालिका हेर्नुहोस्

Shares

प्रतिक्रिया