‘तपाईंको मान्छेले आत्मदाहको प्रयास गर्नु भएको छ, वीर अस्पताल आउनुहोला।’
मदन नेपालीलाई बिहीबार दिउँसो २ बजेर ३० मिनेटमा फोन आयो। बिहानै पठाओ गर्न गएका भाइको त्यो अवस्था सुन्दा मदनको होसले ठाउँ छोड्यो। उनी हतारिँदै अस्पताल पुगे।
अस्पताल पुग्दा उनका भाइ गणेश नेपाली आकस्मिक कक्षमा छटपटाइरहेका थिए।
दाइलाई देख्नेबित्तिकै गणेशले भने, ‘दाइ, आमा र बुवालाई राम्रो गर्नू।’
मुस्किलले आवाज निकाल्दै उनले घटनाको कहानी दाइलाई सुनाउन थाले। तर, बिचैमा उनको बोली रोकियो।
‘दाइ, मेरो गल्ती थिएन है भनेर दुई पटक भन्यो, ह्विल लक लगायो ट्राफिकले भन्दै थियो, उसको बोली रोकियो,’ भाइको अन्तिम बोली सम्झँदै मदन भक्कानिन्छन्।
मुगुको सोरु गाउँपालिका–१ घर भएका गणेश श्रीमती र २ वर्षीया छोरीसँगै भक्तपुरको कमलविनायकमा बस्दै आएका थिए।
२०७२ सालमै मदन रोजगारीका लागि काठमाडौं आएका थिए। उनको पछि लाग्दै गणेश पनि काठमाडौं आए। किस्ताबन्दीमा बाइक किनेर राइड सेयरिङको काम गर्दै आएका थिए।
मदन भने परिवारसहित बालाजु हाइटमा बस्थे। बुधबार राति गणेश श्रीमती र छोरीसहित दाइको घरमा पुगेका थिए। उनले खसीको खुट्टा लिएर गएका थिए। रातको ९ बजिसकेको थियो। मदन सुतिसकेका थिए। गणेशले दाइलाई खसीको खुट्टा पकाउन भने। मदन भोलि पकाऔँला भन्दै सुते।
‘काठमाडौंमा हामीलाई खसीको मासु खान पनि गाह्रो हुन्छ, उतातिर सस्तो हुन्छ, यहाँ महँगो पर्छ, त्यही भएर होला, उसले खुट्टा लगेको रहेछ,’ मदनले भने, ‘बिहीबार बिहानै भाइलाई उठाएर पठाओ गर्न पठाएँ। बाइकको किस्ता तिर्ने बेला भएकाले मैले नै उसलाई उठाएर जान भनेको थिएँ।’

गणेशले बिहान अरूलाई डिस्टर्ब हुन्छ भनेर बाइक पनि अलिक पर लगेर स्टार्ट गरेको मदनले बताए।
भाइ पठाओमा गएपछि मदन त्यही खुट्टा र भात पकाएर भाइ आउने आसमा कुरिरहे। बिहान ११ बजेसम्म पनि गणेश खाना खान नआएपछि मदन सुते।
त्यसैबीच दिउँसो २ बजेर ३० मिनेटमा प्रहरीको नम्बरबाट मदनलाई फोन आएको थियो।
बिहीबार ३ बजेदेखि सघन उपचार कक्षमा रहेका गणेशको शुक्रबार बिहान ११ बजेर १९ मिनेटमा मृत्यु भयो।
शरीरको ५५ प्रतिशत भाग जलेका गणेशलाई चिकित्सकले बचाउन दुई पटक सीपीआर दिएका थिए। तर, उनीलाई बचाउने प्रयास सफल भएन।
गणेशको मृत्यु भएपछि वीर अस्पताल दिनभर तनावपूर्ण बनेको थियो। अस्पताल परिसरमा मृतकका आफन्त, राइड सेयरिङमा काम गर्नेहरू, मुगुवासी, मानवअधिकारकर्मी तथा सञ्चारकर्मीहरूको ठूलो भिड जम्मा भएको थियो। गणेशले न्याय पाउनुपर्ने माग गर्दै अस्पताल परिसरमा नाराबाजी गरेका थिए। गणेशको परिवार विह्वल अवस्थामा छ।
परिवारले पोस्टमार्टमका लागि सहमति जनाएका छैनन्। वीर अस्पतालका चिकित्सक डा प्रकाश बुढाथोकीले आफन्तले शव बुझ्न नमानेको र पोस्टमार्टमका लागि पनि सहमति नदिएको बताएका छन्।
‘सरकारसँग वार्ता गरेर मात्र शव बुझ्ने भन्नुभएको छ। सरकार पक्षका केही व्यक्तिहरू आउनु भएको छ,’ डा बुढाथोकीले नेपालखबरलाई भने।

‘जलनले शरीरका अन्य अंगमा असर पुगेका कारण मृत्यु’
त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाहको प्रयास गरेका गणेशलाई वीर अस्पताल लगियो। उनको टाउको, अनुहार र छातीमा बढी जलन भएको थियो। जसका कारण अस्पताल पुग्दा नै उनको श्वासप्रश्वासमा असर हुन थालिसकेको थियो। त्यस्तै, शरीरमा सुगरको मात्रा बढेर ३१३ पुगिसकेको थियो।
चिकित्सकले अस्पताल पुगेलगत्तै शरीर चिस्याउने, सफा गर्नेलगायतका उपचार सुरु गरेका थिए। उनलाई ३ बजे सघन उपचार कक्षमा राखेर उपचार सुरु गरिएको अस्पतालले जनाएको छ।
आगोको धुवाँ र तातो हावा श्वासप्रश्वासमार्फत फोक्सोसम्म पुगेकाले गणेशको ‘इन्हेलेसन इन्जुरी’ पनि भएको उपचारमा संलग्न डा पीयूष दाहालले बताए।
‘गणेश अस्पताल पुग्दा केही बोल्दै थिए। बोलिरहे पनि श्वासप्रश्वासमा समस्या हुन थालिसकेको थियो। अक्सिजनको मात्रा घटिसकेको थियो,’ डा दाहालले भने।
त्यसपछि गणेशलाई भेन्टिलेटरमा राखेर प्लास्टिक सर्जरी, एनेस्थेसिया, क्रिटिकल केयर मेडिसिनको टोली उपचारमा खटिएको थियो।
‘अवस्था चिन्ताजनक भएकाले सुरुदेखि नै भेन्टिलेटरमा राखेर उपचार गरिरहेका थियौँ,’ डा दाहालले भने, ‘राति ८ बजेसम्म प्रथम चरणको शल्यक्रिया गरिसकेका थियौँ। तर राति नै गणेशको स्वास्थ्य अवस्था खस्किसकेको थियो।’
उपचारकै क्रममा राति एक पटक उनको स्वास्थ्य जटिल अवस्थामा पुगेको डा दाहालले बताए। उनलाई राति नै मुटुको चाल फिर्ता ल्याउन ‘कार्डियोपल्मोनरी रिससिटेसन’ (सीपीआर) दिइएको थियो। त्यस्तै, जीवनरक्षाको औषधि चलाइएको थियो। त्यो औषधि बिहानसम्म पनि चलाएको डा दाहालले बताए। पहिलो पटकको सीपीआर गर्दा केही सुधार भएको थियो।
गणेशको स्वास्थ्य शुक्रबार बिहान फेरि खस्किन थालेको थियो। चिकित्सकले पुनः सीपीआर दिएका थिए। तर, यस पटक बचाउन सकेनन्।
‘बिहान फेरि सीपीआर दिएका थियौँ, तर बचाउन सकिएन,’ डा दाहालले भने।
रीरको २० प्रतिशतभन्दा बढी भागमा जल्नुलाई गम्भीर अवस्था मानिन्छ। गणेशको ५५ प्रतिशत हिस्सा जलेको थियो। उपचारमा संलग्न डा दाहालका अनुसार गणेशको टाउको, छातीमा बढी जलन भएको थियो। जसका कारण उनको श्वासप्रश्वाससम्बन्धी समस्या भएको थियो।
जलन हुँदा आगोबाट निस्किएको तातो हावा श्वासमार्ग हुँदै फोक्सोसम्म पुग्ने र त्यसले श्वासप्रश्वास प्रणालीमा गम्भीर असर पार्न सक्ने उनको भनाइ छ। गणेश अस्पताल नपुग्दै श्वास फेर्न समस्या देखिएको थियो।
त्यस्तै छाती र हातमा भएको ‘सर्कम्फरेन्सियल बर्न’ अर्थात् चारैतिरबाट भएको जलनले पनि अवस्था थप जटिल बनाएको थियो। चिकित्सकले इस्कारोटोमी भन्ने अप्रेसन गरेका थिए। तर उनको भाइटल कमजोर हुँदै गएको थियो।
गणेशको बाहिरी घाउभन्दा भित्री श्वासमार्गमा भएको क्षतिले उपचार थप कठिन बनाएको थियो। जसका कारण बिहीबार राति नै मुटुको चाल बन्द भएको थियो। चिकित्सकले सीपीआर गरेर चाल फिर्ता ल्याएका थिए। तर उनको सुगर लेभल शरीरमा बढ्दै गयो। अन्य अंगमा पनि असर बढ्दै गएको थियो।
चिकित्सकका अनुसार गम्भीर जलन भएका बिरामीमा संक्रमण, श्वासप्रश्वास समस्या र शरीरका महत्वपूर्ण अंगमा पर्ने असरका कारण जोखिम बढ्ने गर्छ।
Shares

प्रतिक्रिया