समाज


नेपालको पश्चिमदेखि पूर्वसम्म ‘न्यूनचापीय रेखा’, अझै हुनेछ वर्षा

नेपालको पश्चिमदेखि पूर्वसम्म ‘न्यूनचापीय रेखा’, अझै हुनेछ वर्षा

म्याग्दीको धवलागिरि गाउँपालिका-२ स्थित जलजलाबाट बादलमाथि देखिएको गुर्जा र चुरेन हिमाल। तस्बिर: सन्तोष गौतम/रासस


नेपालखबर
जेठ १६, २०८३ शनिबार ९:३५, काठमाडौँ

आज शनिबार दिउँसो र राति पनि वर्षा हुने क्रम जारी रहने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाका अनुसार हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पश्चिमदेखि पूर्वसम्म नेपालनजिक रहेको न्यून चापीय रेखाको प्रभाव छ। यतिबेला (शनिबार बिहान) मधेस प्रदेशका केही स्थानमा मध्यम वर्षा, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा कोसी र कर्णाली प्रदेशको एक-दुई स्थानमा हल्का वर्षाको भइरहेको छ।

दिउँसो र रातिचाहिँ कस्तो छ वर्षाको सम्भावना? यस्तो छ मौसम महाशाखाको प्रक्षेपण

दिउँसो : देशभर साधारणतया बादल लाग्नेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित कोसी, बागमती र गण्डकी  प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थान तथा मधेस प्रदेशसहित कोसी, बागमती, गण्डकी प्रदेशका तराई भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा हुने सम्भावना छ। पहाडी-हिमाली भेगमा हिमपातको सम्भावना छ। मधेस प्रदेश तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानमा हुरीको पनि सम्भावना छ।

राति : मधेस, बागमती र गण्डकी प्रदेशसहित देशका हिमाली र पहाडी क्षेत्रमा साधारणतया बादल लाग्नेछ भने बाँकी स्थानको आकाशमा आंशिक बादल लाग्नेछ। मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहित कोसी र कर्णाली प्रदेश हिमाली र पहाडी भूभागका थोरै स्थानमा मध्यमसम्म वर्षा हुने सम्भावना छ। पहाडी-हिमाली भेगमा हिमपातको पनि सम्भावना छ। अनि सुदूरपश्चिम प्रदेशका  हिमाली र पहाडी भूभागका एक-दुई स्थानमा मध्यमसम्म वर्षा तथा हिमपात हुने सम्भावना छ।

काठमाडौँ उपत्यकामा पनि थप वर्षा हुने सम्भावना

देशका विभिन्न स्थानसँगै काठमाडौँ उपत्यकामा पनि रातिदेखि वर्षा जारी छ। 

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् बिनु महर्जनका अनुसार काठमाडौँ उपत्यकामा आज केही बेर मौसम खुल्लाजस्तो भए पनि फेरि बदली भएर थप वर्षा हुने सम्भावना छ।

मौसमविद् महर्जनका अनुसार काठमाडौँ उपत्यकाको मौसम आइतबारसम्मै यस्तै रहने सम्भावना देखिएको छ। 

‘यद्यपि आजभन्दा भोलि वर्षा हुने क्रम केही घट्ने सम्भावना छ’, उनले भनिन्। 

हल्का, मध्यम, भारी र धेरै भारी वर्षा भनेको के हो?

मौसमविद्का अनुसार २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम पानी पर्‍यो भने हल्का वर्षा, १० मिलिमिटरभन्दा धेरै तर ५० मिलिमिटरभन्दा कम पानी पर्‍यो भने मध्यम वर्षा तथा ५० मिलिमिटरभन्दा धेरै तर १०० मिलिमिटरभन्दा कम वर्षा भयो भने भारी वर्षा भएको भनिन्छ।

यस्तै २४ घण्टामा १०० मिलिमिटरभन्दा धेरै तर २०० मिलिमिटरभन्दा कम पानी परेमा धेरै भारी तथा २०० मिलिमिटर भन्दा धेरै वर्षा भएमा अति भारी वर्षा भएको भनिन्छ।

एक-दुई स्थानकेही स्थानधेरै स्थान र अधिकांश स्थानमा वर्षा भन्नाले के बुझिन्छ?

मौसमविद्का अनुसार एक-दुई स्थानमा वर्षा हुने सम्भावना भन्नाले १० प्रतिशतभन्दा कम भूभागमा पानी पर्छ भनिएको हो।

अनि १० देखि ३० प्रतिशत भूभागमा पानी पर्ने सम्भावना हुँदा ‘थोरै स्थान’मा वर्षा हुन्छ भनिन्छ।

यसैगरी ३० देखि ५० प्रतिशत भूभागमा पानी पर्ने सम्भावना हुँदा ‘केही स्थान’मा तथा ५० देखि ८० प्रतिशत भूभागमा वर्षा हुने सम्भावना हुँदा ‘धेरै स्थान’मा वर्षा हुने सम्भावना छ भनिन्छ।

अनि ८० प्रतिशतभन्दा बढी भूभागमा पानी पर्ने सम्भावना हुँदा मौसमविद्ले ‘अधिकांश स्थान’मा वर्षा हुने सम्भावना छ भन्छन्।

मौसमका लागि प्रयोग हुने शब्दावलीबारे विस्तृत जानकारीका लागि तलको तालिका हेर्नुहोस्

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad