समाज


काभ्रेका अधिकांश क्वारेन्टिन रित्तिए

काभ्रेका अधिकांश क्वारेन्टिन रित्तिए

नेपालखबर
जेठ ९, २०७७ शुक्रबार ६:२१,

विश्वभर कोरोना भाइरसको जोखिम बढ्दै गएपछि काभ्रेपलाञ्चोकमा गत चैतदेखि व्यवस्थित गरिएका अधिकांश क्वारेन्टिन हाल रित्तो अवस्थामा छन्।

चार स्थानमा रहेका क्वारेन्टिनमा हाल १२ जनाको उपचार हुँदै थप परीक्षणको तयारी भइरहेको जनाइएको छ।

धुलिखेल अस्पतालमा चार जनाको आइसोलेसनमा उपचार भइरहेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण जिल्ला कमाण्ड पोष्टले जनाएको छ।

हालसम्म जिल्लास्थित स्थानीय तहलगायत विभिन्न स्थानका क्वारेन्टिनमा ३४२ श्यया (बेड) व्यवस्थित गरिएको हो। धुलिखेल नगरपालिकामा ६५, बनेपामा ५०, पनौतीमा १०, नमोबुद्धमा १८, पाँचखालमा ११ श्यया तथा रोशी गाउँपालिकामा १०, महाभारतमा ३५, मण्डनदेउपुर नगरपालिकामा १५, चौँरीदेउराली गाउँपालिकामा १५, भुम्लुमा ३०, बेथानचोकमा १०, तेमालमा छ र खानीखोलामा १५ तथा धुलिखेल अस्पतालमा कार्यरत कर्मचारी प्रयोजनका लागि ५२ श्ययाको क्वारेन्टिन व्यवस्थित गरिएको छ। सम्भावित जोखिम न्यूनीकरण गर्ने उद्देश्यले काभ्रेपलाञ्चोकका १३ स्थानीय तहले एकएक क्वारेन्टिन व्यवस्थित गरेका छन्।

धुलिखेल अस्पतालमा आठ, बनेपास्थित शिर मेमोरियल अस्पतालमा पाँच र बनेपास्थित नेपाल रेडक्रस सोसाइटीमा पाँच श्ययाको आइसोलेसन वार्ड छन्। पोस्टका सदस्य एवं स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्र झाले पाँचखाल नगरस्थित क्वारेन्टिनमा दुई, बनेपास्थित शिर मेमोरियल अस्पतालमा एक, चौँरीदेउराली गाउँपालिकामा सात र नमोबुद्ध नगरस्थित क्वारेन्टिनमा दुईको उपचार भइरहेको जानकारी दिए। अन्य केही क्वारेन्टिनमा बसेकाहरुको दोस्रो परीक्षण तथा क्वारेन्टिन बसाइको समयावधि सकिएपछि घर फर्किएका हुन्।

झाका अनुसार प्रारम्भिक परीक्षण आरडीटीमा पोजिटिभ देखिएकालाई क्वारेन्टिनमा राखेर उपचार गरी पीसीआर परीक्षण गर्ने गरिएको छ। हालसम्म आरडीटी गरी पोजिटिभ देखिएकामा पीसीआर गर्दा सबैको नेगेटिभ रिपोर्ट आएको पोष्टले जनाएको छ। पोष्टका अनुसार हालसम्म विदेशबाट काभ्रेपलाञ्चोक घर फर्किएकासमेत गरी एक हजार ३३५ जनाको आरडीटी भइसकेको छ भने १७२ को पीसीआर प्रविधिबाट कोरोना भाइरस परीक्षण भएको छ। ‘कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका सबैको परीक्षणका लागि अझै यसको दायरा बढाउँदैछौँ’, झाले भने। उनका अनुसार खानीखोला गाउँपालिकाबाहेक अन्य १२ स्थानीय तहमा कोरोना भाइरसको प्रारम्भिक परीक्षण भइरहेको छ।

जिल्लाका नागरिकमा संक्रमण तथा प्रारम्भिक परीक्षणमा कोरोना संक्रमण देखिए पनि दोस्रो परीक्षणमा नदेखिँदै क्वारेन्टिनबाट घर फर्कनु राम्रो अवस्था रहेको जिल्ला संकट व्यवस्थापन केन्द्र संयोजक एवं प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले बताए। उनले भने, ‘क्वारेन्टिन रित्तिएकै राम्रो तर जोखिम बढ्ने सम्भावना देखिए क्वारेन्टिन व्यवस्थित गर्न पनि निकै चुनौतीपूर्ण हुनेछ।’

उनका अनुसार गत हप्ता कोरोना भाइरसका कारण धुलिखेल अस्पतालमा एक सुत्केरीको मृत्यु भएपछि काभ्रेपलाञ्चोकमा परीक्षणको दायरा फराकिलो बनाइएको तथा जिल्लामा स्वास्थ्य सुरक्षामा उच्च सतर्कता अपनाइएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad