समाज


तीन मौसम प्रणाली: दिउँसो पानी, राति हुरी

तीन मौसम प्रणाली: दिउँसो पानी, राति हुरी

म्याग्दीको धौलागिरि गाउँपालिका-२ स्थित पर्यटकीयस्थल जलजला। तस्बिर : रासस


नेपालखबर
जेठ १४, २०८३ बिहिबार ९:१५, काठमाडौँ

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा देशको पूर्वी भूभागनजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव छ भने यतिबेला (बिहीबार बिहान) बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा भइरहेको छ।

मौसम महाशाखाले आज बिहान ८ बजे जारी गरेको बुलेटिनअनुसार दिउँसो र राति पनि देशका विभिन्न स्थानमा पानी पर्ने सम्भावना छ। 

यस्तो छ प्रक्षेपण

दिउँसो : कोसी, मधेस, बागमती र गण्डकी प्रदेशसहित हिमाली र पहाडी क्षेत्रको आकाशमा साधारणतया बादल लाग्नेछ भने तराईमा मौसम आंशिक बदली हुनेछ। कोसी प्रदेशसहित बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थान, मधेस प्रदेशसहित लुम्बिनी, कर्णाली र सुदूरपश्चिम  प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थान तथा बागमती र गण्डकी प्रदेशका तराई भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा हुने सम्भावना छ। यी प्रदेशका पहाडी तथा हिमाली भेगमा हिमपातको पनि सम्भावना छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराईमा तातो दिन हुने सम्भावना छ।

राति : देशभर साधारणतया बादल लाग्नेछ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान, कोसी प्रदेशका थोरै स्थान तथा मधेस प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा हुने सम्भावना छ। यी प्रदेशका पहाडी-हिमाली भेगमा हिमपातको पनि सम्भावना छ। लुम्बिनी प्रदेशका तराई र पहाडी भूभाग तथा बाँकी तराई भूभागका थोरै स्थानमा हुरीको पनि सम्भावना छ।

काठमाडौँ उपत्यकामा पनि वर्षाको सम्भावना

आज काठमाडौँ उपत्यकामा पनि पानी पर्ने सम्भावना देखिएको मौसमविद्ले बताएका छन्। 

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार काठमाडौँ उपत्यकामा अपराह्न वा साँझपख हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना देखिएको हो। 

‘अहिले बिहानचाहिँ काठमाडौँ उपत्यकाको आकाशमा साधारणतया बादल लागेको छ’, उनले नेपालखबरसँग भने, ‘यद्यपि केही समयपछि बिस्तारै मौसम केही खुल्ने र घाम लाग्ने सम्भावना छ। तर दिउँसोपछि फेरि बादल बढ्ने र अपराह्वन वा साँझपख पानी पर्ने सम्भावना छ।’

हल्का, मध्यम, भारी र धेरै भारी वर्षा भनेको के हो?

मौसमविद्का अनुसार २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम पानी पर्‍यो भने हल्का वर्षा, १० मिलिमिटरभन्दा धेरै तर ५० मिलिमिटरभन्दा कम पानी पर्‍यो भने मध्यम वर्षा तथा ५० मिलिमिटरभन्दा धेरै तर १०० मिलिमिटरभन्दा कम वर्षा भयो भने भारी वर्षा भएको भनिन्छ।

यस्तै २४ घण्टामा १०० मिलिमिटरभन्दा धेरै तर २०० मिलिमिटरभन्दा कम पानी परेमा धेरै भारी तथा २०० मिलिमिटर भन्दा धेरै वर्षा भएमा अति भारी वर्षा भएको भनिन्छ।

एक-दुई स्थानकेही स्थानधेरै स्थान र अधिकांश स्थानमा वर्षा भन्नाले के बुझिन्छ?

मौसमविद्का अनुसार एक-दुई स्थानमा वर्षा हुने सम्भावना भन्नाले १० प्रतिशतभन्दा कम भूभागमा पानी पर्छ भनिएको हो।

अनि १० देखि ३० प्रतिशत भूभागमा पानी पर्ने सम्भावना हुँदा ‘थोरै स्थान’मा वर्षा हुन्छ भनिन्छ।

यसैगरी ३० देखि ५० प्रतिशत भूभागमा पानी पर्ने सम्भावना हुँदा ‘केही स्थान’मा तथा ५० देखि ८० प्रतिशत भूभागमा वर्षा हुने सम्भावना हुँदा ‘धेरै स्थान’मा वर्षा हुने सम्भावना छ भनिन्छ।

अनि ८० प्रतिशतभन्दा बढी भूभागमा पानी पर्ने सम्भावना हुँदा मौसमविद्ले ‘अधिकांश स्थान’मा वर्षा हुने सम्भावना छ भन्छन्।

मौसमका लागि प्रयोग हुने शब्दावलीबारे विस्तृत जानकारीका लागि तलको तालिका हेर्नुहोस्

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad